काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई निरन्तरता दिँदै त्यसैको आधारमा देश अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले संविधान बाहिर गएर समाधान खोज्ने प्रयास अस्थिरताको कारण बन्ने चेतावनी दिए। ‘यो संविधानलाई कायम राख्दै आवश्यक संशोधन र परिमार्जन गरौँ, तपाईंहरूले भनेअनुसार पार्टी सुधार र नेतृत्व परिवर्तनका प्रक्रियामा लागौँ, तर संविधानभन्दा बाहिर जाने कदमले दीर्घकालीन संकट निम्त्याउँछ,’ थापाले भने।
उनले सामाजिक सञ्जाल बन्दजस्ता कदमलाई समाजले स्वीकार नगर्ने उल्लेख गर्दै नागरिक अधिकार खोसिने अवस्थाले फेरि आन्दोलन भड्काउने चेतावनीसमेत दिए।
थापाले पुनर्निर्माणका लागि सबैको साझा सहयोग आवश्यक भएको भन्दै गल्ती गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिए। ‘तपाईंहरूले नै सम्हाल्नुपर्छ, बिग्रन दिन हुँदैन,’ भन्दै उनले आत्मसमालोचना गर्दै सुधार गर्ने वाचा पनि गरे।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया