काठमाडौं । आम जनता पार्टी (आजपा)ले युवाहरूलाई अलिकति लाभ वा सुविधा देखाएर झुक्याउने प्रयास भइरहेको आलोचना गरेको छ।
आजपाका अध्यक्ष प्रभु साहले जारी गरेको विज्ञप्तिमा जेन–जि पुस्ताको नेतृत्वमा भइरहेको आन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको बताए।
साहले भने, ‘आन्दोलनले चाहेको उद्देश्य समग्र परिवर्तन हो—लुट र भ्रष्टाचारको अन्त्य र अवस्थाको सुधार, देशको दुरवस्था गलत प्रणाली, संरचना र नेतृत्वका कारण आएको हो। भ्रष्टाचार केवल केन्द्र सरकारमा नभई प्रदेश र स्थानीय तहमा पनि विद्यमान छ।’
उनले थपे, ‘सार्वभौम सत्य स्वीकार नगरी युवाहरूलाई ललिपप दिएर झुक्याउने प्रयास भइरहेको छ, त्यो हामी स्वीकार्दैनौँ।’
साहले जेन–जि पुस्तालाई सतहमा रमाएर समाधान खोज्न नभई समस्याको गहिराइसम्म पुगेर प्रणालीगत सुधारमा जोड दिन आग्रह गरे। ‘समस्याको समाधान केवल नेतृत्वमा नभई व्यवस्थामा खोज्नुपर्छ। नत्र हामीले हासिल गरेको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ,’ उनले भने।
अहिलेको संकटको एकमात्र सही निकास दलाल–दलतन्त्रको अन्त्य र जनपक्षीय अन्तरिम सरकार गठन रहेको उनले स्पष्ट पारे।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया