काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेन-जी आन्दोलनप्रति समर्थन जनाउँदै आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले राजनीतिक परिवर्तनपछि त्यसको व्यवस्थापनमा कमजोरी देखिएकै कारण बेरोजगारी, युवा पलायन, आक्रोश र निराशा बढेको तथ्य स्वीकार गरिएको उल्लेख गरेका छन्। ‘केही सीमित नेतृत्वको कुशासन र अहमताका कारण लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्न नदिन हामी सचेत रहनुपर्छ,’अध्यक्ष नेपालले भनेका छन्।

advertisement

उनका अनुसार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रममार्फत मात्र आर्थिक र सामाजिक रूपान्तरण सम्भव छ। भष्टाचारविरुद्ध सशक्त आयोग गठन, युवालाई रोजगारी, सुशासन कायम, शिक्षा र स्वास्थ्य सुधारजस्ता एजेन्डा पार्टीका प्राथमिकता रहेको र ती जेन-जी आन्दोलनले उठाएका मुद्दासँग मेल खाने विषय भएको उनले स्पष्ट पारे।

आन्दोलनका क्रममा भएको चरम दमनको विरोध गर्दै अध्यक्ष नेपालले दोषीलाई कारबाही गर्न माग गरेका छन्। साथै मृतकहरूलाई श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेता, कार्यकर्ता र शुभेच्छुकलाई जनताबीच पुगेर ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।

तर आन्दोलनमा घुसपैठ गरी सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने र हिंसा फैलाउने गतिविधिलाई अस्वीकार गर्दै उनले त्यस्ता कार्यमा संलग्नलाई कठोर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

‘संविधान र कानुनको रक्षा, सामाजिक सद्भावको प्रवर्द्धन र जनताको सेवामा अविचलित समर्पण—यही आजको अपरिहार्य आवश्यकता हो,’ अध्यक्ष नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com