विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जेन–जी आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै युवा पुस्ताको साहस, जागरण र बलिदानले नयाँ युगको सुरुवात गरेको बताएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आन्दोलनमा सहभागी सम्पूर्ण युवाप्रति सलाम व्यक्त गर्दै यो आन्दोलनले मुलुकलाई नयाँ दिशातर्फ अघि बढाएको बताए।
गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो १८ महिनाको सरकारको बचाउ गर्दै सो सरकार सुशासन, सामाजिक न्याय र समृद्धिका एजेन्डामा दृढ रहेको दाबी गरे। ‘त्यो सरकारले भ्रष्टाचारविरुद्ध ठोस कारबाही गर्यो, विकास र सामाजिक सुरक्षा योजनाहरू अघि बढायो र जनताको विश्वास जित्ने प्रयास गर्यो,’ उनले उल्लेख गरे।
तर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेर त्यो सरकार ढालेको आरोप लगाउँदै उनले भने, ‘भ्रष्टाचारका संरक्षक ओली र देउवाले मिलेर जनविरोधी कदम चाले, जसले प्रतिगमनको बाटो खोल्यो।’
गजुरेलले ओली सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको आलोचना गर्दै त्यसले देश–विदेशमा रहेका सबै उमेर समूहका नागरिकलाई प्रभावित पारेको बताए। प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा आफूहरूले चुप नबसी निरन्तर दबाब दिएको, पार्टी बैठकमार्फत ओलीको राजीनामा माग गरेको र भदौ २३ को घटनाको विरोध गरेको उनले स्मरण गरे।
उनका अनुसार माओवादी केन्द्र दमनको भण्डाफोर गर्दै सहिदहरूको बलिदानलाई सम्मान गर्ने र जेन–जी आन्दोलनसँग ऐक्यबद्ध रहने पक्षमा छ। तर, उनले आन्दोलनमा यथास्थितिवादी र पश्चगामी शक्तिहरूले घुसपैठ गरेर आफ्नो स्वार्थ पूर्ति गर्न खोजिरहेको भन्दै युवालाई सचेत रहन आग्रह गरे।
‘आज पनि युवालाई भ्रमित बनाएर जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र भइरहेका छन्, त्यसमा जेन–जी अझ सजग हुनुपर्छ,’ गजुरेलले चेतावनी दिए।
अन्त्यमा उनले पूँजीवादी दुष्चक्रले सिर्जना गरेको संकटबाट समाजवादमार्फत मात्र मुक्ति सम्भव भएको उल्लेख गर्दै यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने शक्ति जेन–जी नै भएको दाबी गरे।
‘तपाईंहरूको क्रान्तिकारी ऊर्जा र हाम्रो अनुभव मिलेर फेरि नयाँ इतिहास रचिनेछ,’ उनले जोड दिए।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया