काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहानै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। शपथग्रहणसमेत बिहानै हुने शीतल निवास स्रोतले जनाएको छ।

यो निर्णयअघि राष्ट्रपतिले बिहीबार दिनभर र मध्यरातसम्म निरन्तर छलफल र परामर्श गरेका थिए। उनले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संविधानविदहरूसम्मलाई अलग–अलग भेटे।

advertisement

उच्च स्रोतका अनुसार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर कार्कीलाई प्रधानमन्त्री बनाउन लागेको जानकारी गराए। ओलीले ‘संविधानअनुसारै गर्न लागिएको हो भने ठिकै छ’ भन्दै सहमति जनाए।

त्यसपछि पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमार्फत परामर्श लिए, जहाँ देउवाले पनि संविधानअनुसार गर्न सुझाव दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति निवासमै बोलाएर छलफल गरिएको थियो। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका उपमहासचिव वर्षमान पुनसँग पनि भेटघाट भयो।

राष्ट्रपतिले नेताहरूलाई ‘आजै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ठूलो दबाब छ, ढिला गर्न सकिँदैन’ भन्दै दबाबको अवस्था प्रस्ट पारे। त्यसपछि संविधानविदहरूसँग पनि विस्तृत परामर्श गरिएको थियो।

शीतल निवासमा बोलाइएका संविधानविद—पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली र ललित बस्नेत—ले संसद र संविधानकै मार्ग प्रयोग गर्न सुझाव दिए। तर राष्ट्रपति पौडेलले तत्काल संसद बोलाउने वा प्रस्ताव दर्ता गर्ने सुरक्षा र समयगत कारणले सम्भव नभएको बताएका थिए।

संविधानविदहरूले यस्तो असामान्य अवस्थामा राष्ट्रपतिले संविधानको संरक्षकका रूपमा प्रधानमन्त्री नियुक्त गर्न सक्ने निष्कर्ष निकाले। संविधानको धारा ६१ (४) मा राष्ट्रपतिको प्रमुख कर्तव्य संविधानको पालना र संरक्षण गर्नु हुने उल्लेख रहेकाले त्यही आधारमा नियुक्ति गर्न सुझाइएको उनीहरूले बताए।

कार्कीलाई अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष बनाउने कि प्रधानमन्त्री नै भन्ने विषयमा छलफल भए पनि अन्ततः ‘प्रधानमन्त्री’ पदमै नियुक्त गर्ने सहमति भएको बताइएको छ। नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र आन्दोलनका क्रममा भएको दमन, युवाहरूको मृत्यु र त्यसपछिका घटनाबारे छानबिन गर्ने हुने अपेक्षा गरिएको छ।

जेन–जी समूहको प्रस्तावमा अघि बढाइएकी कार्कीले बिहीबार नै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेटघाट गरिन्। राति अबेरसम्म पनि उनीहरूबीच छलफल जारी रहेको स्रोतको भनाइ छ। कार्कीले भने राजनीतिक दलका नेताहरूसँग प्रत्यक्ष भेटघाट नगर्ने अडान लिएकी छिन्।

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com