काठमाडौं । राजतन्त्र पक्षधर अभियन्ता दुर्गा प्रसाईंले मुलुक जोगाउने जिम्मेवारी अहिले नेपाली सेनाको काँधमा आएको दाबी गरेका छन्। उनका अनुसार राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरी सेनाले अन्तरिम सरकार गठनको घोषणा गर्नुपर्ने समय आएको छ।
शुक्रबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले वर्तमान संविधानलाई कायम राखेर जेन–जेड आन्दोलनलाई अर्थहीन बनाउन खोजिएको आरोप लगाए। प्रसाईंले लेखेका छन्, ‘संविधान यही, संसद यही, राष्ट्रपति यही, व्यवस्था यही हुने हो भने आन्दोलन किन गरियो? ती कलिला युवाको बलिदान किन भयो? राज्यको ५० खर्बभन्दा बढी सम्पत्ति नष्ट किन भयो? रगत बगेका र परिवार रोएका हिसाब कसले दिने?’
उनले इतिहास र विश्वका सफल आन्दोलनहरू नयाँ संविधानमार्फत नयाँ व्यवस्था जन्मिएको तर्क गर्दै नेपालमा पनि त्यही बाटो रोजिनुपर्ने बताए। ‘राष्ट्रपति र संविधानलाई निलम्बन गरेर मात्र सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ। नत्र हाम्रा पुर्खा र निर्दोष युवाको बलिदान व्यर्थ हुनेछ, भविष्यका पुस्ताले हामीलाई धिक्कारणेछन्, र अन्ततः यो देशमै बाँच्न नसकिने अवस्था आउन सक्छ,’ प्रसाईंले चेतावनी दिए।
यसअघि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा भेट गरी लामो वार्ता गरेको पनि जनाइएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया