काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि उनको नाममा एउटा पत्र सार्वजनिक भएको छ ।
नख्खु कारागारका जेलर सत्यराज जोशीको हस्ताक्षर भएको उक्त पत्रमा सहकारी प्रकरणसँग जोडिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने भएकाले गृह सचिवको आदेशअनुसार लामिछानेलाई तत्काल थुनामुक्त गरिएको उल्लेख छ । पत्रमा थप भनिएको छ, ‘थुनामा राखिराख्दा अन्याय गहिरिन सक्ने र देशमा शान्ति–सुरक्षामा थप अशान्ति मच्चिन सक्ने देखिएकाले तत्काल रिहाइ गरिएको हो ।’
भदौ २४ गते जेन–जी प्रदर्शनकारीको दबाबपछि लामिछाने कारागार बाहिर आएका थिए । तर, प्रशासनले दिएको पत्रबारे तीव्र आलोचना भइरहेको छ । कानुनअनुसार अदालतको आदेशले मात्रै थुनामुक्त गर्न सकिने अवस्थामा कारागार प्रशासनकै पत्रले रिहाइ गर्नु विधिसम्मत नभएको भन्दै प्रश्न उठाइएको छ ।
यस विषयमा कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाराज शर्माले आफूले अझै पत्र नबुझेको बताएका छन् । उनले भने, ‘हाम्रो विभागको मुख्य काम कारागार कार्यालयहरूको अनुगमन र लजिस्टिक व्यवस्थापन हो । अहिले त हामी भागेका कैदीबन्दीलाई पुनः सम्पर्कमा ल्याउने काममा व्यस्त छौँ, त्यसैले उक्त पत्रबारे टिप्पणी गर्न हतार हुन्छ ।’
शर्माका अनुसार हालसम्म करिब १३ हजार कैदीबन्दी कारागार र बालसुधार गृहबाट फरार भएका छन्, जस मध्ये २ हजारभन्दा बढीलाई पुनः सम्पर्कमा ल्याइएको छ । उनले भने, ‘अझै ११ हजारकै वरिपरिको खोजी भइरहेको छ ।’
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया