काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटाले मुलुकलाई नयाँ जनादेशतर्फ लैजान सङ्घीय संसदमार्फत तत्काल आवश्यक कानुन निर्माण गर्नु सबैभन्दा वैधानिक र उपयुक्त उपाय हुने बताएका छन्। शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले यस्तो अपिल गरेका हुन्।

महरा र सापकोटाले जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता पनि औँल्याए। उनीहरूको भनाइमा, ‘नयाँ पुस्ताले देशको भविष्यप्रति राखेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले स्पष्ट रूपमै देखाएको छ। जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन जस्ता बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याएका छन्। जेन्जी आन्दोलनको भावना पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता हो।’

advertisement

पूर्वसभामुखहरूले संविधान कार्यान्वयन र सरकार सञ्चालनमा देखिएका कमी कमजोरी र कार्यशैलीका त्रुटिहरूको स्वीकारोक्ति र गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनीहरूले संविधानको परिधिमा रहेर परिवर्तन चाहने सबै पक्षका माग सम्बोधन गर्दै अगाडि बढ्न राष्ट्रपतिको पहल स्वागतयोग्य भएको उल्लेख गरे।

‘सङ्घीय संसदबाट आवश्यक कानुन निर्माण गरेर मुलुकलाई नयाँ जनादेशमा लैजान सकिन्छ, र यो सबैभन्दा वैधानिक मार्ग हुनेछ,’ उनीहरूले जोड दिए।

महरा र सापकोटाले आन्दोलनकारी युवाका प्रतिनिधिलाई समावेश गर्दै संविधानअनुसार नयाँ सरकार निर्माण गर्नु नै अहिलेको सर्वोत्तम विकल्प रहेको पनि बताए। नयाँ सरकारले पहिलो प्राथमिकताका रूपमा स्वच्छ र निष्पक्ष निर्वाचनको व्यवस्था गर्नुका साथै ध्वस्त संरचना पुनर्निर्माण र सुशासनमा ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने उनीहरूको सुझाव रहेको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com