काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको कारागार–रिहाइ प्रक्रियामा प्रयोग गरिएको पत्रबारे स्पष्टीकरण दिएका छन्। उनका अनुसार उक्त कागज ‘नक्कली’ नभई हतार र असावधानीका कारण केही विवरणमा गडबडी भएको हुनसक्ने बताए।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अर्यालले रिहाइको सम्पूर्ण प्रक्रिया आफैंले समन्वय गरेको र सभापति लामिछानेको त्यहाँ कुनै प्रत्यक्ष संलग्नता नरहेको दोहोर्याए।

advertisement

‘रवि लामिछाने कारागारबाट बाहिरिँदा म स्वयम् उपस्थित थिएँ र पत्र ग्रहण गर्ने पनि म नै थिएँ,’ उनले लेखेका छन्, ‘यो कागज नक्कली होइन, तर जल्दबाजीमा विवरण तलमाथि भएको हुन सक्छ।’

अर्यालका अनुसार रिहाइको प्रक्रिया अत्यन्त संवेदनशील थियो। उनले भने, ‘१० मिनेट ढिलो भएको भए आज हामी श्रद्धाञ्जली लेख्ने अवस्थामा पुग्थ्यौं। समयमै सभापतिज्युलाई ननिकालेको भए गम्भीर क्षति हुने सम्भावना कारागार प्रशासनले नै स्वीकारेको छ।’

लामिछाने भागेको होइन, निरन्तर सुरक्षा निकायसँगको समन्वयमै रहेको अर्यालको दाबी छ। उनका अनुसार, शुक्रबार पनि लामिछाने पुनः कारागार जान तयार थिए तर कारागारमा भएको क्षति र सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफूले रोकेको उनले स्पष्ट पारे।

‘आज पनि अध्यक्षज्यू जेल फर्किन निस्कनुभएको थियो, म भने पहिले सिडिओ र जेलरसँग समन्वय गरेर अवस्था बुझ्छु भनेर रोकेको हुँ,’ अर्यालले भनेका छन्।

सम्पूर्ण प्रक्रिया आफैंले सम्हालेको बताउँदै उनले व्यक्तिगत बदनामी नगर्न सबैसँग आग्रह गरे। ‘देशको परिस्थिति जटिल छ, त्यसमा ध्यान दिनुहोस्; व्यक्तिको प्रतिष्ठा ध्वंस गर्ने प्रवृत्तिबाट टाढा रहनुहोस्,’ उनले अपिल गरे।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com