काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी नवनिर्माणमा जुट्न नेतृत्व तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

शनिबार जारी गरेको वक्तव्यमा उनले विगतका कमजोरी र विवादमा अडिनुभन्दा वर्तमान परिस्थितिबाट नयाँ दिशा तय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

advertisement

उनले भने, ‘यो कठिन अवस्थामा हामीले आफ्ना अग्रज नेताहरू— विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका लोकतान्त्रिक योद्धाले देखाएको बाटोबाट शिक्षा लिनुपर्छ। उनीहरूको पदचिन्हलाई आधार बनाएर भावी कांग्रेसको मार्गचित्र तय गर्नुपर्छ।’

कोइरालाका अनुसार लोकतान्त्रिक समाजवादको आदर्शलाई कायम राख्न देशभरका कार्यकर्ताले दिएको संघर्ष, यातना र बलिदान नै पार्टीको प्रमुख प्रेरणाको स्रोत हो। ‘आज फेरि हामीलाई ती शहीद र योद्धाहरू सम्झेर भविष्यको भूमिका निर्धारण गर्नुपर्छ। अतीतप्रति पश्चाताप गर्दै मात्र समय खेर फाल्ने अवस्था छैन। जे कमी कमजोरी भयो, त्यसको प्रायश्चित गर्न हामी पछि हट्ने छैनौं,’ उनले स्पष्ट पारे।

उनले सत्ता र पदको केन्द्रतर्फ ध्यान दिने प्रवृत्ति अब गौण भएको उल्लेख गर्दै, ‘अब कांग्रेस ‘न दाजुको, न भाइको, कांग्रेसजनकै पार्टी’ बन्‍नुपर्छ। जनताको विश्वासलाई शिरमा राख्दै अघि बढ्दा नै राष्ट्र निर्माणको अभिभार काँधमा आउनेछ,’ भने।

कोइरालाले कांग्रेसका ऐतिहासिक सम्पदासँग जोडिएको विराटनगरस्थित कोइराला निवास जलाइए पनि त्यसले विचार र आन्दोलनलाई समाप्त गर्न नसक्ने टिप्पणी गरे। ‘भौतिक संरचना खरानी हुन सक्छ, तर विपीको विचार र पिताजीको आन्दोलनको बीज सदैव जीवित रहन्छ। यही खरानीबीचबाट नवनिर्माणको प्रण गर्दै नयाँ कांग्रेस निर्माणमा लाग्नुपर्छ,’ उनले भने।

वर्तमान राजनीतिक घटनाक्रमबारे धारणा व्यक्त गर्दै उनले जेन–जेड आन्दोलनबाट बनेको नयाँ सरकारले जनताको विश्वास जित्ने अपेक्षा व्यक्त गरे। तर आन्दोलनकै नाममा सार्वजनिक सम्पत्ति जलाउने, व्यक्तिको सम्मानमा आघात पुर्‍याउने र समाजमा त्रास सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नभएको पनि प्रष्ट पारे।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई ‘जघन्य अपराध’ अभिव्यक्ति दिँदै कडा शब्दमा निन्दा गरे।

युवाहरूमा तीव्र परिवर्तन चाहना रहेको उल्लेख गर्दै कोइरालाले भने, ‘हाम्रा युवाहरू आफ्नै देशमै सुन्दर र समृद्ध भविष्य खोजिरहेका छन्। कांग्रेस त्यसको माध्यम बन्नुपर्छ भन्ने आम जनताको अपेक्षा छ। हाम्रो भावी लक्ष्य यसैमा केन्द्रित हुनुपर्छ।’

उनले समयसापेक्ष चाल नचल्दा कांग्रेस र अन्य ठूला दल सत्ता बाहिरिन बाध्य भएको स्वीकार गर्दै, ‘समाज र युवाको ऊर्जा एकातिर छ, तर हाम्रो सोच र रणनीति अर्कोतिर बग्यो। अब यो ऊर्जा राष्ट्रिय भावनासँग जोड्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुने प्रण गर्दछु,’ भने।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com