काठमाडौं । वैकल्पिक राजनीतिका अभियन्ता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको राजनीतिक परिदृश्यलाई ‘दोस्रो उत्तम विकल्प’ का रूपमा लिनुपर्ने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले जेन–जेड आन्दोलनपछि मुलुकलाई निकास दिने पहिलो र सबैभन्दा उचित बाटो भनेको संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने र त्यसपछि संसद् विघटनमार्फत नयाँ निर्वाचनमा जाने रहेको बताए।
तर आन्दोलनकारीले उक्त विकल्प अस्वीकार गरेको र परम्परागत दलहरूले टालटुल गर्ने सम्भावना बढेपछि दोस्रो विकल्पको रूपमा राष्ट्रपतिबाट संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने, त्यसपछि सोही सरकारको सिफारिसमा संसद् विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने प्रक्रियालाई उत्तम देखिएको उनको भनाइ छ।
भट्टराईले आफूले यही सुझाव सम्बन्धित सबै पक्षलाई पहिले नै दिएको उल्लेख गर्दै, यसलाई नेपाली इतिहासको अर्को महत्वपूर्ण मोडको रूपमा ग्रहण गर्नुपर्ने धारणा राखे। उनले अगाडि थपे, ‘अब अग्रगामी वैकल्पिक राजनीति चाहने सबैले यसलाई सकारात्मक ढंगले स्वीकार्दै नयाँ राजनीतिक ध्रुवीकरणतर्फ अघि बढ्नुपर्छ।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार












प्रतिक्रिया