काठमाडौं । लोकप्रिय गायक तथा कलाकार प्रकाश सपुतले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई हार्दिक बधाई दिएका छन्। उनले हालैको राजनीतिक परिवर्तन र ‘जेन–जेड’ पुस्ताको विद्रोहलाई ‘नयाँ युगको सुरुवात’को रूपमा मूल्याङ्कन गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिँदै सपुतले आन्दोलनमा ज्यान गुमाएकाहरूको श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले भनेका छन्, ‘सबैभन्दा सुन्दर कुरा भनेको ठूलो बलिदान र संघर्षपछिको नयाँ संविधानको संरक्षण हुनु हो।’

advertisement

सपुतले यो परिवर्तन ल्याउने जेन–जेड पुस्तालाई धन्यवाद दिँदै उनीहरूको परिपक्वता र संयमको प्रशंसा गरे। ‘यो सोच र संयमपूर्वक गरिएको निर्णयले अघिल्ला पुस्ताको मन र मानलाई समेत सम्मान दिएको छ। साँच्चै बडो प्रेरणादायी छ,’ उनले लेखे।

यस ऐतिहासिक निर्णयमा राष्ट्रपति र सेना प्रमुखले देखाएको जिम्मेवारी र समर्थनको लागि पनि उनले धन्यवाद व्यक्त गरेका छन्।

सपुतले आम नागरिकलाई आशावादी रहन र सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गर्दै भने, ‘परिवर्तन एउटा प्रक्रिया हो, जसले समय लिन्छ। आजको भोलि सबै कुरा ठीक हुने छैन। यस अन्तरिम सरकारले चुनाव गराउनेछ र हामीले सही व्यक्तिलाई रोज्नेछौं। निर्णायक भूमिका हामीसँग नै छ। आशा छ, स्टीयरिङ सही व्यक्तिको हातमा हुनेछ र नेपालले नयाँ यात्राको सुरुवात गर्नेछ। त्यसैले अब आशाको गीत गाऔँ। आफूले गर्न सक्ने काममा लागौं र सामाजिक सञ्जालमा सकारात्मकता र मानवता प्रवर्द्धन गरौं।’

अन्त्यमा सपुतले आफैं एउटा आशाको गीत बनाएर गाउँने योजना पनि सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com