जेन-जीको क्रान्तिपछि अब नेपालमा के हुन्छ? साँच्चै आन्दोलनको नारा जस्तै देशमा सुशासन, राजनीतिक स्थिरता र विकास हुन्छ ? के पुराना राजनीतिक व्यक्ति फेरिएलान् त? निस्वार्थ, राष्ट्रप्रेमी र कर्मशील व्यक्ति अघि आउलान् ? यस्तै कैयौँ प्रश्नहरू यतिखेर सम्पुर्ण नेपालीको मनमा छ।
तर, विडम्बना राजनीतिक दलको कार्यकर्ताहरु पुन: सलबलाउन थालिसकेका छन्। जनतालाई झुकाउदै छन् राजनीतिका हानिकारक किराहरू । ६ महिना भित्र निर्वाचन हुँदै हुँदैन। त्यसपछि फेरि कार्यकर्ताहरू र जनताले उही दललाई सरकारमा ल्याउँछन्। अनि अनुहार फेरिन्छ होला, चरित्र होइन। २०६९ चैत १ गते गठन भएको खिलराज रेग्मी चुनावी मन्त्रिपरिषद्लाई स्वयं सुशीला कार्की र कल्याण श्रेष्ठको ईजलासले अन्तिम पटक भनेको थियो। फेरि यो कसरी बन्न सक्छ ? सर्वोच्चमा रिट नै रिट पर्छ। त्यसपछि सरकार राम राम…. ! यस्ता के-के हो के-के ? कार्यकर्ताको आवाज सुनिन्छ।
आम नागरिकको आवाज, देशमा अब के हुन्छ? देशमा स्थायी सरकार आउँछ ? मर्ने मरेर गए अब तिनीहरूको नाममा राजनितीमा अरुले मोज मात्र गर्लान ? आखिर के हुन्छ ? हामीले देखेको २००७, २०४७, २०६३ को आन्दोलनले खोई देशमा के भयो ? पात्र फेरिए तर चरित्र उही, यस्तो निराशलाग्दो आवाज सुनिन्छ ।
धैर्य गर्नुहोस्, हामीलाई सुनाएको जस्तो निराशाको अवस्था छैन, तर तपाई जिम्मेवार नभए आशा लाग्ने कुरा पनि नहुन सक्छ। म राजनीति शास्त्रको विद्यार्थी हुँ। मैले धेरै त बुझेको छैन् तर जति बुझेको छु त्यति तपाईंलाई भन्न खोज्दै छु। बाँकी आफै खण्डन गर्नुस्।
भ्रष्टाचारमुक्त जेन-जीको मुख्य नारा थियो। भ्रष्टाचारको जरा प्रशासन वा कर्मचारीतन्त्र हो। यसको मुख्य हाँगा राजनीतिकर्मी वा जनप्रतिनिधि हो तर पात, ससाना हाँगा हामी जनता नै हौँ। यो देशमा २ करोडभन्दा बढी जनसङ्ख्या भ्रष्टाचारी छौं, हामीले आफ्नो काम गराउनलाई कति ठाउँमा भ्रष्टाचारीलाई पैसा दिएका छौं भन्नुस् त? तपाईंले पैसा नदिएको भए एउटा भ्रष्टाचारी घट्न सक्थ्यो। भ्रष्टाचार हाम्रो संस्कार भईसक्यो। होइन, काम गरेको चित्त बुझेर बक्सिस दिएको भन्नुहुन्छ होला। तर, तपाईँले राजतन्त्र हटाउनुभयो तर आफूलाई राजा सम्झिएर बक्सिस दिने बानी चाहिँ राखिराख्नुभयो। जसरी दिए पनि पैसा मापदण्ड विपरीत दिनु भ्रष्टाचार नै हो। प्रोत्साहन सँगै तपाईँको पैसाले आशावादी बनाएको छ – कर्मचारीतन्त्रलाई ! भ्रष्टाचारी बनाएको छ। यसरी जनप्रतिनिधिलाई कर्मचारीले पहिला सिकाउने नै कसरी लिने र कसरी दिने भनेर हो। भ्रष्टाचार के हो? यो कसरी हुन्छ? मैले भन्दा अरुले धेरै राम्रो लेखेका छन्।
अब भ्रष्टाचार कसरी रोक्ने ?
कार्यालयमा तोकिएको दस्तुरभन्दा एक पैसा पनि बढी नतिरौं। आफू के कामका लागि कार्यालय जाँदैछु र के-के चाहिन्छ, स्पष्ट बुझौं। नागरिक बडापत्र र अनलाइन साइटमा यस बारेमा स्पष्ट तथ्य राख्न दबाब दिउँ र अनिवार्य बनाउँ । तपाईँलाई साँच्चै कर्मचारीलाई प्रोत्साहन गर्ने मन छ भने एउटा नीति बनाउँ सरकारी खातामा स्पष्ट दान गरौं। त्यसको आधारमा देशभरिको कार्यालयबाट उत्कृष्ट कार्यालयका कर्मचारीलाई “उचित पुरस्कारको व्यवस्ता”गर्न सकिन्छ। तर, यो परिकल्पना र सुझाव मात्र हो। विश्वमा भ्रष्टाचारलाई नियन्त्रण गर्न धेरै प्रविधि र पारदर्शिताको प्रयोग छ। तर भविष्यमा नेपालमा पनि प्राविधिक क्रियाकलापबाट भ्रष्टाचार नियन्त्रण हुन सक्ला । अहिले यस्तो कुरा उठाउँदा नयाँ भ्रष्टाचारको स्रोत बन्छ। यसैले वर्तमानमा आफुले घुस नदिउँ र माग्नेलाई फोटो र भिडियो सहित सामाजिक संजाल सार्वजनिक गर्दै कानुनको दायरामा ल्याउँ। बाँकी जेन-जीको अन्तिम विकल्प तपाईंलाई नै थाहा छ।
राजनीति के हो ?
राजनीति सत्ता र शक्तिमा हुने संघर्ष हो । जसमा आफ्नो विचार, योजना, आदर्शलाई बढीभन्दा बढी प्रभावकारी रूपले जनता सामु पुर्याइन्छ। जनताको समर्थन आफूमा ल्याइन्छ। तर, राजनीतिमा व्यवस्थापकीय र बहुसंख्यक जनताको हित हुनुपर्ने हो। यहाँ धेरै गरिबको आवाज उठाउँदै नेता बन्छन्। नेता कतिखेर गरिबबाट धनी हुन्छ उसैले थाहा पाउँदैन अनि उसले धनीको नीतिमा सही छाप लगाउँदै भन्छ “म गरिबको नेता हुँ तपाईहरुकै रगत र पसिनामा म उभिएको छु”। नेता र नेतृत्वको चरित्र कति फरक छ । उसले जे बोल्छ त्यो गर्दैन, जे गर्छ त्यो बोल्दैन। नायकलाई राजनीतिले खलनायक बनाउँछ, खलनायकलाई पनि राजनीतिले नायक बनाउँछ। राजनीतिको आफैंमा इतिहास हेर्दा थाहा हुने कुरा हो। कुन धरातलमा राजनीति उभिएको छ भनेर । राजनीतिको यात्रा आफैमा शुद्ध छ भन्न सकिँदैन तर असल नेतामा अन्तिम स्वार्थ जनहितको हुनुपर्ने हो तर त्यो कहिल्यै नेपालमा भेटिएन।
जेन-जीले राजनीति गर्न सक्दैनन्?
जेन-जीले राजनीति गर्न सक्छ। तर, यसको लागि बुझाई, गराई, यथार्थ, वास्तविकता आदि सबैको ज्ञान चाहिन्छ। यसलाई त्याग, बलिदान, समाजसेवा, व्यवस्थापन सम्झिएर जनताको चाहना, भावना र आवश्यकतालाई मध्यनजर गर्दै विश्वमा आफूलाई उभ्याउने र सुहाउने नीति योजना ल्याउनुपर्छ। राजनीतिक व्यक्तित्व पूर्णरूपमा विवादरहित रहन सक्दैन, त्यसको ज्ञान हुनुपर्छ। राजनीतिले तपाईँलाई इतिहासमा बनाउँछ तर वर्तमानमा तपाईँलाई सिध्याउन पनि सक्छ, त्यो त्याग हुनुपर्छ।
राजनीतिमा चलखेल खेलाडीहरूको बिकबिकी छ, यसलाई पन्छाउने शक्ति पनि हुनुपर्छ। तपाईं जनता प्रति इमानदार हुनु पर्छ। जनताले जनप्रतिनिधिलाई जिताउँछ। त्यो जनप्रतिनिधि प्रशासनभन्दा माथि हो। जनतालाई प्रशासनको भाषा बुझाउने होइन, जनप्रतिनिधिले प्रशासनलाई जनताको चाहना, भावना र आवश्यकता अनुसार बनाउनु पर्छ। जनप्रतिनीधि प्रशासकको दास होइन, सल्लाहकार हो। धेरै जनप्रतिनिधिले प्रशासनको घुम्ती र दलदलमा आफ्नै अस्तित्व सकाएका हुन्छन्, त्यस्तो गर्नु हुँदैन। अग्रपंक्तिका केहीले यो साहस देखाएर “साँच्चिकै राजनीति भविष्यको लागि समाजसेवा र व्यवस्थापन हो” भन्न सकिन्छ। केही योग्य व्यक्तिले तयारी, अध्ययन, योजना, विचारसहित राजनीतिमा आउनुपर्छ। बाँकीले सधैं प्रतिपक्षको भूमिका निभाउनुपर्छ। आज राजनीति जटिल अवस्थामा छ, किनकि व्यक्तिवादी हाबी छ भोलि राजनीति सहज हुनेछ, किनकि समाजसेवक त्यो ठाउँमा हुनेछ।
यो सरकार र जेन-जीको क्रान्तिलाई असफल तुल्याउन केही पक्षहरू सक्रिय देखिएका छन्। तिनीहरुलाई रोक्नुपर्छ वा उनीहरूलाई तथ्य सहितको कुरामा आलोचना र समीक्षा गरेर अघि बढ्नुपर्छ। यो सरकार संविधान भित्रको आधारमा बनेको छैन। तर संविधानकै आधारमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले “नेपालको संविधानको भाग-३ (मौलिक हक तथा कर्तव्य) धारा-१६ उपधारा-२ “कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइएको छैन” भन्ने मर्म विपरित गएर १९ जनाको मृत्यु भयो। त्यसलाई जोगाउन त्यतिखेर अरु दलले पनि प्रयास गरेनन्। सायद त्यही दिन कुनै पनि राजनीतिक दलले सही निर्णय लिन सकेको भए आज यो अवस्था नआउन सक्थ्यो। यसकै फलस्वरूप संविधानको कल्पनाभन्दा बाहिर जे घटना भयो, त्यसको सकारात्मक पक्ष हो “यो सरकार” । यसलाई सहयोग गरौं प्रतिपक्ष बनाउन निर्वाचन समयमा नै गरौं। जेन-जी पुस्ताले आफ्नो उम्मेदवारलाई खुलेर प्रश्न गरौं उम्मेदवारको योजना, विचार व्यवस्थापकीय क्षमता, नेतृत्व, कानुन तथा राजनीतिक ज्ञान, आफ्नो जिम्मेवारी सहितको समाजसेवकलाई नै आफ्नो मत दिउँ । यो क्रान्ति परिवर्तनकै लागि भएको हो र यसले सकारात्मक परिवर्तन ल्याउँछ। अब नेपालमा साँच्चै सुशासन, स्थिर सरकार र चलायमान अर्थ अर्थतन्त्र हुनेछ। यो सबै जेन-जीको लागि मात्र होइन, सबै नेपाली नागरिकको लागि हो।
त्यसैले सबैले आफ्नो सल्लाह सकारात्मक र रचनात्मक शैली प्रस्तुत गरौं। ईतिहास पढ्न र गल्ती बुझ्नको लागि हो। फर्किन र दोहोर्याउनका लागि होइन्। विश्वका कयौँ देशहरू सुन्यबाट उठेका छन् तर हामी त्यति तल पनि छनौं। “हल्लालाई हवाले उडायो, जेन-जीले साँच्चिकै क्रान्ति ल्यायो” भने विचार सहित अघि बढौं ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया