काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा रूपान्तरण अनिवार्य भएको भन्दै मंसिरसम्ममा महाधिवेशन सम्पन्न गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भदौ २४ गते प्रदर्शनकारीद्वारा आगजनी भएको विराटनगरस्थित कोइराला निवास पुगेका शर्माले सोमबार नयाँ राजनीतिक परिस्थितिमा कांग्रेस पनि नयाँ शैलीमा अघि बढ्नुपर्ने बताए।

advertisement

‘मंसिर मसान्तसम्म अहिलेको कार्यसमितिको कार्यकाल मात्र हो, यसलाई थप्नु हुँदैन,’ उनले भने, ‘क्रियाशील सदस्यता नवीकरण भइरहेको छ, वितरण पनि खुला गरेर अब महाधिवेशनतर्फ जानुपर्छ। यद्यपि पार्टीभित्र तत्काल महाधिवेशनमा नजानुपर्ने धारणा पनि रहेको बताउँदै उनले साझा निष्कर्ष केन्द्रीय समितिबाटै बन्ने जानकारी दिए।

‘आज कोइराला निवासको यो भूमिमा उभिएर म भन्छु, हामी नयाँ ढंगले आउनेछौं, मुलुकलाई सम्हाल्नेछौं, नयाँ सम्भावनातर्फ अघि बढाउने कृतसंकल्पित छौं,’ शर्माले भने।

वर्तमान अवस्था आउनुमा आफ्नो नेतृत्वको कमजोरी पनि रहेको स्वीकार गर्दै उनले आत्मालोचना र क्षमायाचनासहित कांग्रेसलाई नयाँ पुस्तासँग गाँसेर रूपान्तरण गर्ने आवश्यकता औंल्याए। ‘जेनजी पुस्ताको बलिदान, भावना र अपेक्षा समेटेर अघि बढ्ने रूपान्तरणित कांग्रेस अबको आवश्यकता हो भन्ने धारणा देशभर बलियोसँग उठेको छ,’ उनले थपे।

शर्मा र महामन्त्री गगन थापाले महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक गरेपछि पूर्वपदाधिकारीहरू उनीहरूविरुद्ध मोर्चाबन्दीमा देखिएका छन्। यसतर्फ संकेत गर्दै शर्माले पार्टीभित्र आ–आफ्नो विचार राख्ने स्वतन्त्रता रहेको र अन्ततः केन्द्रीय समितिबाट साझा धारणा बन्ने विश्वास व्यक्त गरे।

यसअघि प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा अस्पतालमै रहेका बेला महाधिवेशनको एजेन्डा उठाइएको भन्दै थापा र शर्मालाई लक्षित गरेर टिप्पणी गरेका थिए।

त्यसबारे प्रतिक्रिया दिँदै शर्माले सभापति देउवाको स्वास्थ्य र कांग्रेसको राजनीतिक स्वास्थ्य दुवै आफ्ना लागि उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे। ‘कांग्रेसलाई तन्नेरी बनाउन, तरुण बनाउन गहन छलफल आवश्यक छ,’ उनले भने, ‘यसका लागि सबैका विचार समेटेर समन्वयमा अघि बढ्छौं। सभापतिज्यूको स्वास्थ्यप्रति हामी संवेदनशील छौं, निरन्तर सम्पर्कमा रहेर स्वास्थ्य अवस्था बुझिरहेका छौं।’

भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा घाइते भएका सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा हाल सैनिक अस्पतालमा उपचाररत छन्।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com