काठमाडौं । संचार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने काम गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकार सम्मेलन गर्दै उनले सरकारको प्राथमिकता देश र जनता हुने स्पष्ट पारे। ‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुने गरी केही पक्कै गर्छौँ। यो सरकारमा रहेका सबै मन्त्रीहरूका लागि देश पहिला, जनता पहिला अनि मात्रै अरू कुरा आउँछ,’ खरेलले भने।
उनले नेपालको कर्मचारीतन्त्रप्रति विश्वास व्यक्त गर्दै ब्युरोक्रेसी स्वतन्त्र र राजनीतिक हस्तक्षेपविहीन भएमा ठूला उपलब्धि हासिल गर्न सकिने बताए। ‘लोकसेवा पास गरेर आएका कर्मचारीहरू दक्खलयुक्त छन्। उनीहरूलाई नेताको गोटी बन्न नपर्ने वातावरण दिन सकियो भने प्रणाली नै बलियो हुन्छ,’ उनका शब्दहरू थिए।
मन्त्रीले आफ्ना मातहतका कर्मचारीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न आग्रह गर्दै हस्तक्षेप नगर्ने प्रतिबद्धता दोहोर्याए। ‘मन्त्री एक्लै भएर काम गर्न सकिँदैन। सचिवज्यू र सबै कर्मचारी अनुभवी हुनुहुन्छ। म हस्तक्षेप गर्दिनँ, बरु तपाईँहरूबाट सिक्छु। म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु,’उनले भने।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया