काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक अधिकार संरक्षण गर्ने महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र अभियानका विषयमा मङ्गलबार भक्तपुरमा पत्रकार सम्मेलन गरेका छन्।
प्रसाईँले आफ्नो संगठनले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गर्दै भने, ‘त्यतिबेला देशमा प्रतिपक्ष थिएन, हामीले त्यो भूमिका निभाएका थियौँ। अहिलेको अन्तरिम सरकारले पनि त्यसैगरी हामी प्रतिपक्षको भूमिका निभाउँछौं र सरकारलाई खबरदारी गर्छौं।’
उनले महाअभियानको मूल उद्देश्य संविधान र व्यवस्थामा सुधार ल्याउने रहेको उल्लेख गर्दै, जेन–जि आन्दोलनपछि अवस्था फरक दिशातर्फ गएको बताए। ‘हामीले चाहेको कुरा एउटै थियो, तर परिस्थितिले अर्को बनाइदियो। व्यवस्था र संविधानमा परिवर्तन हुनुपर्ने थियो, तर त्यो हासिल भएन,’ उनले भने।
प्रसाईँले यो व्यवस्था सबै नेपालीलाई विदेश जान बाध्य बनाएको बताए। उनले विगतमा पूर्वराजाको हस्तक्षेपविरुद्ध अभियान सुरु गरिएको र भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको पनि उल्लेख गरे। बैंकको ब्याजदर घटाउने क्रममा अभियानले भूमिका खेलेको र लघुवित्त पीडितहरूको समस्या समाधानमा योगदान पुगेको उनको भनाइ थियो।
अभियानका संयोजक प्रसाईँले महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्दै निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया