काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं–चितवन यात्रा एक घण्टामा पूरा गर्न सकिने आधुनिक द्रुतमार्ग निर्माण तत्काल सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार हालको सडक सञ्जालले अत्यधिक चाप धान्न नसक्ने अवस्थाले जनधनको क्षति बढाएको छ भने यात्रुहरूलाई असह्य कठिनाइ भोग्नुपरेको छ। शर्मा भन्छन्, ‘ठाउँ–ठाउँमा पहिरो खस्छ, खोलाले बाटो बगाउँछ, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणघाट सडकले अब मुलुकको यातायात माग पूरा गर्न सक्दैन। प्रत्येक वर्ष ठूलो क्षति बेहोर्नु परेको छ। त्यसैले यात्राको पीडा र विकासको अवरोध हटाउन, काठमाडौंबाट नारायणघाट एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गर्न आवश्यक छ।’

advertisement

शर्माले अर्थमन्त्री हुँदा नै काठमाडौंको चन्द्रागिरि–चित्लाङ मार्ग हुँदै चितवन जोड्ने वैकल्पिक द्रुतमार्ग योजना बजेटमार्फत अघि सारेका थिए। ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधार योजना’ शीर्षकमा समावेश गरिएको बजेटको २१३ औं बुँदामा काठमाडौं–चितवन द्रुतमार्ग निर्माणको प्रस्ताव गरिएको थियो। योजनाअनुसार सो मार्ग बनेमा राजधानीदेखि चितवनको यात्रा एक घण्टामा सीमित हुने उल्लेख गरिएको थियो।

त्यस्तै, बजेटमा पहिलो चरणमा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग बनाउने, र दोस्रो चरणमा चितवन–रामपुर हुँदै बुटवल तथा चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा लगानी बोर्डमार्फत अघि बढाउने योजना राखिएको थियो। यसबाट काठमाडौं–पोखरा र काठमाडौं–बुटवलको यात्रा समय समेत उल्लेखनीय रूपमा छोटिने भनिएको थियो।

तर, उक्त योजना पछिल्ला सरकारहरूले खारेज गरेका थिए। अहिले नारायणघाट–मुग्लिन सडकखण्डमा बारम्बार पहिरो खसेर सवारी आवागमन ठप्प भइरहेको सन्दर्भमा पूर्वमन्त्री शर्माले आफ्नै पुरानो प्रस्तावलाई पुनः स्मरण गराएका हुन्।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com