जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको जनमत पार्टीको सरकार संकटमा परेको छ। बुधबार नेपाली कांग्रेसले समर्थन फिर्ता गर्ने निर्णय गरेपछि सिंहको सरकार अल्पमतमा पुगेको हो।
१०७ सदस्यीय प्रदेशसभामा कांग्रेसका २२, एमालेका २५ (सभामुखसहित), जनमतका १३, लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १, राप्रपाका १ र संघीय समाजवादीका १ सांसद छन्।
सिंह नेतृत्वको सरकारमा प्रारम्भमा नेपाली कांग्रेस, एमाले, लोसपा, एकीकृत समाजवादी र जनमत सहभागी थिए। यी दलहरूको ६९ सदस्यीय समर्थनका आधारमा सिंह मुख्यमन्त्री बनेका थिए। तर कांग्रेसले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा पुगेको छ।
कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवले भने, ‘हामीले समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौं। अब प्रदेशसभाको ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व दाबी गर्नेछ।’
मुख्यमन्त्री सिंहले गत भदौ २४ गते जेन–जी आन्दोलन चर्किएको बेला सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। जनकपुरमा आन्दोलनकारीले सरकारी कार्यालय र नेताका घरमा आगजनी गरिरहेका दिन उनले फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका थिए। फेसबुकमा प्रकाशित वक्तव्यमा उनले भनेका थिए, ‘नागरिकको ज्यानभन्दा ठूलो केही छैन भन्ने विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मुख्यमन्त्री पदबाट राजीनामा गर्छु।’
तर सिंहले संविधानअनुसार प्रदेश प्रमुखलाई औपचारिक राजीनामा पत्र बुझाएका छैनन्। संविधानको धारा १६९(१)(क) अनुसार मुख्यमन्त्रीले लिखित राजीनामा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ।
२५ जेठ २०८१ मा माओवादी केन्द्रसहित छ दलको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए। पछि संघमा कांग्रेस–एमालेको सरकार बनेपछि माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको थियो। त्यसपछि कांग्रेस, एमाले र लोसपाको समर्थनमा सिंहले सरकार चलाउँदै आएका थिए। तर हाल कांग्रेसको समर्थन फिर्तासँगै उनको सरकार धरापमा परेको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया