काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । अभिभावकहरूको बैठकमा उनले औपचारिक रूपमा राजीनामा दिएको विद्यालय स्रोतले जनाएको छ ।

एक अभिभावकका अनुसार, ‘आरजु राणाले काठमाडौं र ललितपुर दुवै शाखाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्,’ जानकारी दिइयो ।

advertisement

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो, जसले विद्यालयको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो । राणा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन्, युलेन्स स्कुल भने युलेन्स एजुकेशन फाउन्डेशनको मातहतमा सञ्चालन हुँदै आएको हो ।

विद्यालय पुनः सञ्चालनका लागि नयाँ योजना तयार पारिएको छ । अभिभावक स्रोतका अनुसार अब अभिभावकहरूकै पहलमा नयाँ ट्रस्टी चयन गरिनेछ । ‘पहिलो १५ वर्ष संस्थापक ट्रस्टीहरूले, त्यसपछि अभिभावक र अन्ततः पूर्वविद्यार्थी (अल्मुनाइ)हरूले विद्यालय सञ्चालन गर्ने दीर्घकालीन रोडम्यापअनुसार काम भइरहेको छ,’ एक अभिभावकले बताए ।

हाल विद्यालयले अनलाइनमार्फत पठनपाठन जारी राखेको छ । कक्षा १० देखि १२ र आइबी कार्यक्रमका कक्षाहरू दशैंपछि प्रत्यक्ष (फेस–टु–फेस) सञ्चालन गर्ने तयारी गरिएको छ । पूर्ण रूपमा भौतिक कक्षा सञ्चालन भने आगामी तीनदेखि चार महिनाभित्र सुरु गर्ने योजना विद्यालयले सार्वजनिक गरेको छ ।

युलेन्स स्कुलले हालै विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा विद्यालय अफवाह र दुष्प्रचारको सिकार भएको दाबी गरेको छ । विद्यालयका अनुसार, डा. आरजु राणालाई फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले होइन, साबिकको जिल्ला शिक्षा कार्यालयले शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. राणा देउवा विद्यालयको व्यवस्थापन समितिमा मात्र रहेकी थिइन्, फाउन्डेशनमा ट्रस्टी होइनन् । विद्यालय सामुदायिक विद्यालयको व्यवस्थापन समितिसरहको संरचनामा सञ्चालन हुन्छ, स्वामित्व भने फाउन्डेशनकै हो ।’

विद्यालयले अफवाह र गलत प्रचारबाट प्रतिष्ठामा आघात पुगेको गुनासो पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘डा. देउवालाई विद्यालयलाई नाफा कमाउने व्यवसायका रूपमा चित्रित गरेर दुष्प्रचार गरिएको छ, जुन पूर्णतः गलत हो । समाजमा यस्ता भ्रम फैलाइएका कारण विद्यालय नै पीडित बन्न पुगेको छ । जस–जसले युलेन्सविरुद्ध अफवाह र गलत प्रचार फैलाए, ती सबैलाई हामी चुनौती दिन्छौं ।’

राजनीतिमा सक्रिय भएसँगै डा. राणाले विद्यालय व्यवस्थापनबाट अलग हुने इच्छा पहिले नै व्यक्त गरेकी थिइन् । उनको राजीनामासँगै युलेन्स स्कुल अब नयाँ नेतृत्वसहित पुनः सञ्चालनको तयारीमा लागेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com