चितवन । नेपाल विद्युत प्राधिकरणले भरतपुरका बजार क्षेत्रका सडकमा विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। भरतपुर महानगर कार्यालयको अगाडि पूर्व-पश्चिम राजमार्गको छेउमा प्रचण्डले गैंची चलाएर आयोजनाको आरम्भ गरेका हुन्।
नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरण गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार
प्रतिक्रिया