काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्र उठाएको सुधारको एजेन्डा कुनै व्यक्तिविरुद्ध नभई पार्टीलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले अघि सारेको स्पष्ट पारेकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो ‘रिफर्मेसन’ अभियानलाई सभापति रवि लामिछानेको विकल्प खोज्ने प्रयासका रूपमा प्रस्तुत गरिएकोप्रति आपत्ति जनाइन्।
केही दिनदेखि ममाथि रवि लामिछानेको विकल्प खोज्दैछु भन्ने गलत प्रचार भइरहेको छ,उनले भनिन्,यो भुसको आगोझैँ फैलिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै कमजोर बनाउन सक्छ।
डा. कार्कीले जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचारविरुद्धका र सुशासनका मुद्दालाई सशक्त रूपमा अगाडि बढाउन रास्वपालाई यथास्थितिवादबाट बाहिर निस्कनुपर्नेमा जोड दिइन्। उनका अनुसार पार्टीलाई समयसापेक्ष, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन वैचारिक तथा सांगठनिक पुनर्गठन आवश्यक छ।
म उठाउने रिफर्मेसनको एजेन्डा कुनै व्यक्तिविरुद्ध होइन,उनले भनिन्,यो पार्टीलाई सबल, सुदृढ र समावेशी बनाउने अभियान हो।
डा. कार्कीले पार्टीको आगामी विस्तारित बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि राय मात्रै होइन, मतदानको व्यवस्था पनि हुनुपर्ने माग गरिन्। सहभागीहरूलाई उक्त प्रतिवेदन स्वीकार, अस्वीकार वा संशोधनसहित पारित गर्ने अधिकार दिनुपर्ने उनको भनाइ छ।
त्यससँगै उनले पार्टीको केन्द्रीय संरचना, सचिवालय र समितिहरूको पुनरावलोकन र पुनर्गठन गरी रास्वपालाई वैकल्पिक राजनीतिक शक्ति, नागरिक समाज र जेन–जी पुस्ताको साझा प्लेटफर्म बनाउनुपर्ने धारणा राखिन्।
यदि हामी यथास्थितिमै अडिने हो भने बहुमतको पार्टी बन्न सक्दैनौँ, डा. कार्कीले भनिन्। उनले पेशागत जीवन र व्यक्तिगत भविष्य त्यागेर पार्टी निर्माणमा समर्पित भएको स्मरण गराउँदै, मिथ्या आरोपहरूबाट आफूलाई कमजोर पार्ने प्रयास नगर्न आग्रह गरिन्।
उनले अन्त्यमा व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठी सुधारका ठोस मोडालिटीमा बहस गर्न सबैसँग आग्रह गरेकी छन्।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया