काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई सरकारले निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने घोषणा गरेकी छन्
साथै, उनले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचारलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले आफ्नो पहिलो प्राथमिकता शहिद परिवार र घाइतेहरूको पक्षमा काम गर्नु रहेको बताइन्। ‘आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुभएका शहीदका परिवारको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी हो,’ उनले भनिन्, ‘यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी तत्काल निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाउनेछु।’
घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताउँदै उनले सरकारले सुरु गरेको निःशुल्क उपचार कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तरता दिइने स्पष्ट पारिन्।
‘घाइतेहरू पूर्ण रूपमा निको नभएसम्म उहाँहरूको उपचार जारी रहनेछ,’ मन्त्री शर्माले भनिन्। उनले घाइतेहरूको चोटको वर्गीकरणको अवस्थाबारे बुझेर त्यसअनुरूप क्षतिपूर्तिको व्यवस्थालाई समेत सहजीकरण गर्ने बताइन्।
पदभार ग्रहण कार्यक्रममा मन्त्री शर्माले जेन-जी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दाहरूलाई सम्बोधन गर्नु आफ्नो मुख्य कार्यभार रहेको सुनाइन्।
३२ वर्ष स्वास्थ्य मन्त्रालयमा सेवा गरेको अनुभवलाई देश र जनताको पक्षमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै उनले मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरिन्।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया