दुबई । कप्तान रोहितकुमार पौडेलको शानदार शतकको बलमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा समेटिएको हो।
नेपालका लागि skipper रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको उत्कृष्ट पारी खेले। एकदिवसीय क्रिकेटमा यो उनको दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ मा पपुआ न्यूगिनी (पीएनजी) विरुद्ध पहिलो शतक बनाएका थिए।
नेपालले सुरुवातमै विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्की ३ रनमा पेभिलियन फर्किए। त्यसपछि आसिफ शेखले ३५ रन जोड्दै पारी सम्हालेका थिए। आरिफ शेखले २७ रन र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए।
रोहितले आसिफ, आरिफ र दीपेन्द्रसँग क्रमशः ३५, ७० र ५४ रनको साझेदारी गर्दै टोलीको स्कोर स्थिर राखे। सोमपाल कामी हिट विकेट हुँदै ६ रनमा आउट भए भने करण केसीले अन्तिम ओभरमा आक्रामक ८ बलमा १३ रन (एक चौका र एक छक्का) जोडे।
युएईका बलर जाहिद अली सर्वाधिक प्रभावकारी रहे ,उनले ४ विकेट लिए। जुनैद सिद्धिकीले ३ विकेट, आर्यन लाक्राले २ विकेट र मोहम्मद फराजले १ विकेट हात पारे।
नेपालको खेलाडी सूची
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
यसअघि सिरिजका पहिलो दुई खेल अमेरिकाले जित्दै लिग-२ को शीर्ष स्थान कब्जा गरिसकेको छ। नेपाल र युएई दुवै टोलीले पहिलो खेलमा पराजय व्यहोरेका थिए।
अमेरिकाले हालसम्म २२ खेलमा १६ जित निकाल्दै ३२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डका २४ खेलबाट ३० अंक छन्, जबकि नेदरल्यान्ड्स २८ अंकसहित तेस्रो स्थानमा छ।
नेपालले १७ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ। युएई भने समान खेलबाट ६ अंकका साथ तालिकाको पुछारमा छ। नेपालले लिग-२ मा ५ खेल जितेको, २ खेल नतिजाविहीन रहेको र १० खेलमा हार व्यहोरेको छ।
नेपालले अब यही सिरिजमा बाँकी तीन खेल खेल्नेछ, बिहीबार युएई, शनिबार अमेरिका र सोमबार फेरि युएईसँग — जसपछि यस वर्षका लागि लिग-२ को आफ्नो अभियान समाप्त गर्नेछ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया