काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूसँग पार्टी एकता गर्ने माओवादी केन्द्रको तयारीप्रति असहमति जनाउँदै शर्माले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

शर्माको पत्रकार सम्मेलन ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफे मा दिउँसो २ः३० बजे हुने तय भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार भेट गरेर एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट धारणा राखिसकेका शर्माले आजको पत्रकार सम्मेलनमार्फत आफ्नो औपचारिक अभिव्यक्ति दिने तयारी गरेका हुन्।

advertisement

माओवादी केन्द्रले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखी नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूसँगको एकता प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ। तर शर्माले सो प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै खुला विरोध गरेका छन्।

शर्माको असहमतिको पृष्ठभूमिमा माओवादी केन्द्रभित्र नयाँ शक्ति समीकरणको चर्चा तीव्र बनेको छ। असन्तुष्ट नेताहरू—नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले वैकल्पिक वाम मोर्चा बनाउने तयारी गरेको बताइएको छ।

शर्मालाई माओवादीका सचिव राम कार्की, पूर्वमन्त्री सुदन किराँती लगायतका नेताहरूको समर्थन रहेको बुझिएको छ। आजको पत्रकार सम्मेलनमा शर्माले वाम एकता प्रक्रियाप्रति आफ्नो असन्तुष्टि, आगामी राजनीतिक योजना र नयाँ मोर्चाको सम्भावनाबारे खुलासा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com