काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले जेन–जी पुस्ताले उठाएका मागहरूलाई सरकारले बेवास्ता गरे आगामी चुनाव अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
गुरुङले बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति तीव्र असन्तोष प्रकट गर्दै सरकार र गृहमन्त्री दुवैप्रति आक्रोश व्यक्त गरेका छन्। उनले गृहमन्त्री अर्याल जनताको आवाज सुन्न र भरोसा कायम राख्न असफल भएको आरोप लगाउँदै भनेका छन्, देशभर ‘हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन–जीलाई कारबाही गर’ भन्ने सुन्ने गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रको अपमान हो।
उनले दुई महिना बितिसक्दा पनि कुनै भ्रष्टाचारी वा हत्यारालाई कारबाही नगरेको भन्दै गृहमन्त्रीको कार्यक्षमता र प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।
गुरुङले २०८४ सालको निर्वाचन २०८२ मा सार्नका लागि आन्दोलन नभएको स्पष्ट पार्दै भने, ‘यो आन्दोलन देश र जनताको अधिकारका लागि हो। यदि जनता र जेन–जी पुस्ताका मागहरू सम्बोधन भएनन् भने चुनाव हुन दिने छैनौं।’
गृहमन्त्रीलाई वाचा पुरा गर्न नसके पद त्याग्न आग्रह गर्दै उनले थपे, “काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्। अब त्यो समय आएको छ, ओमप्रकाश अर्यालज्यू।’
प्रधानमन्त्रीको निकट सम्बन्धकै भरमा पद सुरक्षित रहने सोच गलत भएको चेतावनी दिँदै गुरुङले सरकारलाई जेन–जी आन्दोलनका मागहरू — सुशासन, भ्रष्टाचारविरुद्ध कडा कदम र युवाका मुद्दाहरूलाई प्राथमिकता — तत्काल सम्बोधन गर्न आग्रह गरे।
उनका अनुसार, यी मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहनेछ र यसको राजनीतिक परिणाम सरकार स्वयंले भोग्नुपर्नेछ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया