काठमाडौं । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद र आसन्न १५औँ महाधिवेशनको कार्यतालिकाबारे जिल्ला नेताहरूसँग व्यापक परामर्श गरेका छन्।
कोइरालाले शुक्रबार आफ्नै सम्पर्क कार्यालय विशालनगरमा काठमाडौँमा रहेका कांग्रेसका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग छलफल गरेका हुन्। छलफलको केन्द्रबिन्दु हालै केन्द्रीय कार्यसमितिमा प्रस्तुत दुई फरक महाधिवेशन कार्यतालिका र त्यसको सम्भावित मिलनबिन्दु रहेको थियो।
गत मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। यी दुई प्रस्तावबीच सहमति खोज्ने उद्देश्यसहित कोइरालाले परामर्श बैठक बोलाएका हुन्।
उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार छलफलमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल र टेकप्रसाद गुरुङसहित मोरङका सभापति डिगबहादुर लिम्बू, रुपन्देहीका सभापति रामकृष्ण खाँण, नुवाकोटका सभापति रमेश महत, खोटाङका सभापति विष्णु राई, चितवनका सभापति राजेश्वर खनाल, सिन्धुलीका सभापति उज्ज्वल बराल लगायत उपस्थित थिए।
त्यस्तै गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्वसभापति यज्ञबहादुर थापालगायतका नेताहरू पनि सहभागी भएका थिए। सहभागीहरूले पार्टी एकता र आगामी निर्वाचन तयारीलाई ध्यानमा राख्दै सहमतिका आधारमा नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका थिए।
रुपन्देही सभापति खाँणका अनुसार धेरैजना सभापतिहरूले पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले महामन्त्री थापाले पेस गरेको कार्यतालिका अपूर्ण रहेको भन्दै सबै तहको अधिवेशन समेट्ने विस्तृत कार्यतालिका बनाउनुपर्ने माग गरेका छन्।
सभापतिहरूले केन्द्रीय समितिमा पूर्ण र व्यवहारिक कार्यतालिका पेस गर्न डा. कोइरालालाई आग्रह गर्दै पार्टीभित्र सहमतिको वातावरण सृजना गर्न पहल गर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया