काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले मुलुकमा निर्वाचनको विकल्प नरहेको स्पष्ट गर्दै सरकारको ध्यान पूर्ण रूपमा आगामी निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले अवको प्रतिनिधिसभामा नयाँ पुस्तालाई समेत सहभागी गराउने उद्देश्यसहित निर्वाचन अपरिहार्य रहेको बताए। जेनजी आन्दोलनका मागअनुसार संविधान संशोधनका साथै मुलुकमा शान्ति सुरक्षा कायम राख्नका लागि पनि निर्वाचन आवश्यक रहेको उनले बताए।

advertisement

सिन्हाले भने, ‘जसरी भएपनि तोकिएको समयमा निर्वाचन सम्पन्न हुनेछ। यसका लागि सरकारले दलहरूसँग निरन्तर संवाद गर्दै आएको छ र दलहरूबाट पनि सकारात्मक सहयोगको अपेक्षा छ।’

जेनजी आन्दोलनका क्रममा नियोजित आगजनी र हिंसात्मक घटनाहरू भएको उल्लेख गर्दै मन्त्री सिन्हाले सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले थपे, ‘अभियानमा धेरै हतियार लुटिएको र कैदीहरू भागेकाले जनताले असुरक्षित महसुस गर्नु स्वाभाविक हो। त्यसैले सुरक्षा निकायहरू गम्भीर भएर क्रियाशील छन्।’

त्यसैगरी, सरकारले मितव्ययीता कायम राख्ने उद्देश्यले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाउने निर्णय गरेको छ। मन्त्री सिन्हाले यसबारे संसदका पदाधिकारीसँग पुनः छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com