काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि मुलुकको नेतृत्व पार्टीले सम्हाल्ने दाबी गरेका छन्।
चितवनको सौराहामा शुक्रवारदेखि सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचन गतिविधिमा पार्टी केन्द्रित र सक्रिय हुनुपर्ने बताए।
फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको स्मरण गराउँदै उनले भने, “हामीसँग निर्वाचनका लागि १ सय २० दिनभन्दा कम समय बाँकी छ। अब घनिभूत ढंगले तयारी गर्नुपर्ने छ। यस क्रममा विचार, योजना र सिद्धान्तमा आधारित भएर जनतालाई प्रेरित गर्नुपर्छ।
उपसभापति वाग्लेले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा पार्टी एकजुट भएर अघि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए। उनले जोड दिए, अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने छ। त्यसैले सबैले एकजुट भएर योजना, रणनीति र अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।
उनले निर्वाचन तयारीलाई केवल प्राविधिक तयारी नभई जनतालाई विश्वास दिलाउने अभियानको रूपमा लिनुपर्नेमा जोड दिँदै पार्टीका पदाधिकारी र कार्यकर्तालाई प्रेरित गरे।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया