काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्न लागेको बताएका छन् ।  उनले यस अभियानमा नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको उल्लेख गरे।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सुशासन कायम गर्न असफल भए देश पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिए। उनले हालको अवस्थाले राज्यका सबै निकायलाई गम्भीर सन्देश दिएको बताए।

advertisement

उनका अनुसार आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियारमध्ये केही आगलागीमा नष्ट भए पनि अधिकांश हतियार फिर्ता भइसकेका छन् भने केही अझै खोजीको क्रममा रहेका छन्।

त्यस्तै, आन्दोलनका बेला फरार भएका १४ हजार ५४९ जना कैदीबन्दीमध्ये ९ हजार ५२१ जना अर्थात् करिब ६५ प्रतिशतले आत्मसमर्पण गरिसकेका छन्। बाँकी ५ हजार १ जना अझै फरार रहेको उनले जानकारी दिए।

गृहमन्त्री अर्यालले पटक–पटक सार्वजनिक सूचना जारी गरिए पनि बाँकी कैदीबन्दी र हतियार फिर्ता नआएकाले सरकारले अब विशेष अपरेसनमार्फत खोजी र नियन्त्रण अभियान सुरु गर्न लागेको बताए।

कानुनी राज्यको जगेर्ना गर्नु हाम्रो जिम्मेवारी हो, उनले भने, यो कार्यमा सुरक्षा निकायसँगै नागरिकको पनि सहभागिता जरुरी छ ।

उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अपरिहार्य बताउँदै राज्यले सुशासन, स्थायित्व र सुरक्षाको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com