काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री तथा फोहर बाल्न पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।
चिसो बढेसँगै विभिन्न स्थानमा फोहर र प्लास्टिक बाल्ने प्रवृत्ति तीव्र भएको भन्दै विभागले यस्तो कार्य जनस्वास्थ्य र वातावरण दुवैका लागि हानिकारक भएको बताउँदै रोक लगाएको हो ।
विभागकी प्रमुख सरिता राईका अनुसार जाडो मौसममा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर उच्च हुने गर्छ, जसमा खुला रूपमा फोहर बाल्ने कार्यले ठूलो भूमिका खेल्छ । उनले भनिन्, ‘जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर कम गर्न र वातावरणलाई सुरक्षित राख्न यो निर्णय गरिएको हो ।’
उनका अनुसार वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम–खोकीका बिरामी, मुटु रोगी तथा दीर्घ रोगले पीडित व्यक्तिहरूमा गम्भीर असर पुर्याउँछ ।
राईले सहरवासी सबैलाई खुला ठाउँमा वस्तु बालेर धुवाँ फैलाउने कार्य नगर्न आग्रह गर्दै भनिन्, ‘प्रतिबन्ध उल्लङ्घन गर्नेहरूलाई काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कारबाही गरिनेछ ।’
ऐनअनुसार यस्तो कार्य दोहोर्याएमा प्रतिपटक १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने चेतावनी विभागले दिएको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया