काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अब कुनै पनि प्रकारको हिंसात्मक, तोडफोड र विध्वंसात्मक गतिविधि सह्य नहुने बताएका छन्। उनले नेकपा (एमाले) जनताको सुरक्षाको ग्यारेन्टीका रूपमा उभिने दाबी गर्दै नागरिकले अब डराउन नपर्ने स्पष्ट सन्देश दिएका छन्।

राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, अब कोही पनि देशमा नडराउनुस्, नेकपा एमाले छ। जनताको घर, पसल, उद्योग जलाउने र लुट्ने कार्यलाई अब हामीले रोक्छौं।

advertisement

उनले हालका केही घटनाले देशको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै भने, देशभर १६ सयभन्दा बढी संरचना जलाइएका छन्, जसले अर्थतन्त्रलाई २५ वर्ष पछाडि धकेलेको छ। यस्तो विनाशकारी गतिविधिबाट देशले कहिल्यै फाइदा पाउँदैन।

अध्यक्ष ओलीले जेन-जी आन्दोलनको नाममा भएका हिंसात्मक गतिविधि केही आपराधिक समूहले योजनाबद्ध रूपमा सञ्चालन गरेको दाबी गरे। उनका अनुसार, “जेन-जीका धेरै युवा आन्दोलन सकिएपछि फर्किइसकेका थिए, तर केहीले उनीहरूको नाममा उपद्रव र तोडफोड गरे, जसका कारण निर्दोषहरू पनि मारिए।

उद्योग र कलकारखाना जलाइँदा हजारौँ मजदुर बेरोजगार बनेको र उनीहरूका परिवार प्रभावित भएको बताउँदै ओलीले भने, उद्योग बन्द हुँदा मजदुरको रोजगारी गुम्छ, उनीहरूका छोराछोरी विद्यालय जान छाड्छन्। यस्तो आन्दोलनले जनताको हित होइन, पीडा बढाउँछ।

देशमा सुरक्षाको प्रत्याभूति कमजोर भएको अवस्थामा अब नेकपा (एमाले) नागरिक सुरक्षाका लागि प्रत्यक्षरूपमा उभिने उनले बताए। अब कसैले असुरक्षित महसुस गर्नुपर्ने छैन,ओलीले जोड दिए, “राज्य र नागरिकको सुरक्षाको जिम्मा एमालेले लिन्छ, देशमा स्थायित्व र शान्ति कायम राख्नेछ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com