काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा दुवै पक्षबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा शान्ति–सुरक्षा सुनिश्चित गर्ने विषयमा विस्तृत कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गृहमन्त्री अर्यालले देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै शान्ति–सुरक्षा, सुशासन र भ्रष्टाचारमुक्त सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकता रहेको बताए। उनले तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले पूर्ण तयारीका साथ काम गरिरहेको स्पष्ट पारे।
त्यस क्रममा मन्त्री अर्यालले नेपाल र भारतबीचको ऐतिहासिक र आत्मीय सम्बन्ध सधैँ मजबुत रहेको बताउँदै खुला सीमाका कारण निर्वाचन अवधिमा सीमा सुरक्षामा भारतको सहयोग र भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुमधुर ढङ्गले अगाडि बढ्ने आशा व्यक्त गर्दै भारत सधैँ नेपालका सकारात्मक प्रयत्नमा साथ दिन इच्छुक रहेको बताए।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया