कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो।

यो गाउँको प्राकृतिक सौन्दर्यतासँगै ऐतिहासिक महत्त्व पनि छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, नेपालका बाइसे चौबीसे राजाहरूको पालामा गाउँमाथि रहेको ‘कोट’ (दरबार) बाट नै यसको नाम हेम्जाकोट रहन गएको हो। यहाँ जयकोट नामको अर्को टाकुरा पनि छ, जहाँ बलिपूजा गर्ने प्रचलन छ र बलि दिइएको प्रसाद महिलाले घरमा लैजान नहुने विश्वास गरिन्छ।

advertisement

२०६२ सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको यस गाउँमा हाल १२ वटा घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ करिब ८० जना पाहुना अटाउने व्यवस्था छ। होमस्टे सञ्चालकहरूले पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित १,२०० रुपैयाँको प्याकेज निर्धारण गरेका छन्।

यो गाउँ पोखराको सिमपानीबाट १८ किलोमिटरको दूरीमा छ र यहाँ गुरुङ समुदायको बाहुल्य छ। यो सामुदायिक होमस्टेलाई विसं २०७२ मा पर्यटन मन्त्रालयले उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित गरेको थियो।

हेम्जाकोट ‘माछापुच्छ्रे मोडल ट्रेक’ मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ। गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, शान्त परिवेश, गुरुङ मौलिक संस्कृति र हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता हो। पछिल्लो समय यो क्षेत्र म्युजिक भिडियो तथा चलचित्र छायाङ्कनका लागि पनि रोजाइमा पर्न थालेको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com