काठमाडौं । मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका पूर्व उपप्रधानमन्त्री भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने पक्का भएको छ। नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै नेतृत्वमा मातृभूमि जागरण अभियान चलाउँदै आएका थिए।
हालै नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका १० वाम घटकबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टी मा रावल समूहलाई समेत समाहित गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
आइतबार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, र नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी र शेरबहादुर कुँवरले रावलसँग विस्तृत छलफल गरेका थिए।
छलफलमा सहभागी एक नेताका अनुसार, रावलको पार्टी प्रवेशबारे सहमति भइसकेको छ। “भीम रावलजीसँगको छलफल सकारात्मक रह्यो, उहाँ नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुन सहमत हुनु भएको छ। कात्तिक २६ वा २७ गते औपचारिक कार्यक्रम गर्ने तयारी छ,” ती नेताले बताएका छन्।
उनका अनुसार, पार्टीभित्र रावललाई छैटौं वरीयता दिने विषयमा नेताहरू सकारात्मक छन्। यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसम्म सचिवालयमा रहने व्यवस्था थियो, र अहिले रावललाई पनि सचिवालय सदस्यका रूपमा राख्ने तयारी भइरहेको छ।
छलफलका सन्दर्भमा भीम रावलले पनि आफू नेताहरूसँग निरन्तर संवादमा रहेको पुष्टि गरेका छन्। छलफल भइरहेको छ, अहिले हामी अन्तिम कुराकानीको चरणमा छौं, रावलले बताएका छन्।
रावलनिकट स्रोतका अनुसार सोमबार साँझ पुनः बैठक बस्ने र त्यसपछि औपचारिक रुपमा एकीकरण प्रक्रिया टुंगो लाग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया