झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा इलामका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ का २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ का १९ वर्षीय रियाज सिलवाल रहेका छन्। उनीहरूलाई आइतबार राति दमकबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

advertisement

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा दमकस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी गराइएको थियो। सो घटनामा संलग्न रहेकाहरूलाई प्रहरीले क्रमशः पक्राउ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस घटनामा संलग्नका रूपमा हालसम्म चार जना पक्राउ परेका छन्। दुई दिनअघि मात्रै पाँचथर मिक्लाजुङ–५ का २१ वर्षीय साजन लुहागुनलाई पनि दमक–५ बाट नियन्त्रणमा लिइएको थियो। उनीमाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

झापा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि धरपकड तीव्र पारेको छ। अहिलेसम्म दमकबाट चार र बिर्तामोडबाट छ गरी १० जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार आक्रमणमा संलग्नहरूको पहिचान भिडियो र फोटोका आधारमा भइरहेको छ। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने विरुद्ध ५० भन्दा बढी उजुरी दर्ता भइसकेका छन् र ती सबैमाथि अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com