काठमाडौं । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलस भुसाल भनिने कमल भुसाल धरौटीमा रिहा भएका छन्। उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो।
भुसाललाई प्रहरीले गोर्खाको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। भुसालले कात्तिक १३ गते संवाद डवलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।
सोही कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरित भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो।
निजको साथबाट कुनै विस्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको अदालतले भनेको थियो। भुसालको बयान समेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको थियो।
धरौटी बुझाएपछि भुसाललाई परिवारको जिम्मा लगाएर छाडिएको हो। यसअघि पनि पक्राउ पर्दा भने भुसालले लागुऔषध खाएको पाइएपछि प्रहरीले सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएको थियो। तर परिवारले सुधार केन्द्र लगेका थिएनन्। प्रहरी हिरासतबाट छुटेपछि उनले अराजक अभिव्यक्ति दिएका थिए।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया