काठमाडौँ । सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ । प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ ।
प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन् । त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो । त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ ।
प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए । कात्तिक २५ गते आठ स्थानमा, कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना भएका थिए । जनचेतना र असावधानीका कारण आगलागीका घटना भएको भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको छ ।
यस्तै, शुक्रबार मात्रै ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन् । कञ्चनजङ्घा आधार शिविर जानेक्रममा स्थानीय खामाचेन भन्ने स्थानमा दुई जापानी नागरिक लेक लागेर बिरामी परेका छन् । त्यस्तै, कञ्चनजङ्घा आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकसमेतलाई लेक लागेको छ । मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणका कारण तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com