काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा तोकिएको निर्वाचन समयमै हुने दाबी गरेका छन्। दक्षिण कोरियामा आयोजित नेपाल पत्रकार महासङ्घको अन्तरक्रिया कार्यक्रममा उनले सुरक्षा व्यवस्थादेखि वातावरण निर्माणसम्म सबै तयारी पूरा भएको बताए।
मन्त्री खरेलका अनुसार कुनै पनि राजनीतिक दलले चुनावमा भाग नलिने घोषणा नगरेकाले राजनीतिक सहमति बलियो रहेको छ। उनले जेनजी आन्दोलनपछिको अन्तरिम सरकारका मुख्य प्राथमिकता—निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्द्धन—लाई प्रभावकारी रूपमा अघि बढाइने बताए।
एआई तथा डिजिटल रूपान्तरण नेपालको भविष्य भएको उल्लेख गर्दै खरेलले कोरियाबाट प्राप्त अनुभव र नेपालमा स्थापना गरिएको राष्ट्रिय एआई केन्द्रले डिजिटल विकासलाई गति दिने विश्वास व्यक्त गरे। विदेशी रोजगारमा रहेका नेपालीले शान्ति र सुशासन चाहेको बताउँदै उनले पाँच महिनाभित्र केही आधारभूत सुधार लागू गरिने आश्वासन दिए।
निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे सर्वपक्षीय छलफल हुने उल्लेख गर्दै उनले कम खर्चिलो निर्वाचन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउन कानुनी प्रक्रिया अघि बढेको र आवश्यक परे अध्यादेशमार्फत व्यवस्था गरिने पनि उनले बताए।
दक्षिण कोरियामा नेपाल एयरलाइन्सको सिधा उडानका लागि पहल हुने जानकारीसमेत मन्त्री खरेलले दिए।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया