हुम्ला ।  जिल्ला सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उहाँकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आउनुभएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् ।

आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनिहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए । उनका अनुसार आक्रमणबाट लक्ष्य र उहाँकी श्रीमतीको टाउकामा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।

advertisement

घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्याइएको जनाउँदै प्रनाउ पोखरेलले अहिले घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार लक्ष्य र बाँचुको अवस्था गम्भीर छ भने रजनीको अवस्था खतरामुक्त छ ।

स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएका छन् । सदरमुकाम सिमकोटमा भने भालुले आक्रमण गरेको यो पहिलो घटना हो । घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन् ।

भालुको गाउँमा प्रवेश गर्नेक्रम बढिरहेकाले स्थानीयलाई सतर्क भएर दैनिक कामकाज गर्न प्रहरी प्रमुख पोखरेलले आग्रह गरे । आगामी दिनमा वन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जङ्गली जनावर नियन्त्रण तथा सुरक्षाका उपाय अपनाइने उनले बताए ।

 

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com