काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले कुलमान घिसिङ नेतृत्वको पार्टिसँग राजनीतिक सहकार्य र एकता हुने संकेत गरेका छन्।

बुधबार नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासा मेटाउँदै डा. वाग्लेले कुलमान र आफूहरूबीच मिल्नैपर्छ भन्ने विषयमा ‘सैद्धान्तिक सहमति’ भइसकेको बताएका हुन्।

advertisement

आजै एउटा सार्वजनिक कार्यक्रममा कुलमान घिसिङसँग लामो छलफल भएको प्रसंग कोट्याउँदै वाग्लेले भने, ‘आज कुलमानजी र म झण्डै दुई घण्टा सँगै थियौं। संयोगले कुर्सी पनि सँगै पर्‍यो’

उनले पुराना दलहरूको परम्परागत राजनीतिक शैली तोड्न राम्रा मान्छेहरू एक ठाउँमा उभिनुपर्नेमा दुवै पक्ष सहमत रहेको बताए।

‘हामी मिल्नैपर्छ भन्नेमा हाम्रो सैद्धान्तिक सहमति छ,’ वाग्लेले भने, ‘आजको आजै व्यावहारिक रूपमा एकता नहोला, तर निर्वाचन अघि हामी पक्कै एउटै मैदानमा आउँछौं।’

डा. वाग्लेले राजनीति भनेको यस्तै हो भन्ने भाष्य र पुराना पात्रहरूको सिन्डिकेटलाई ‘चकनाचुर’ पार्न पनि नयाँ शक्तिहरूको ध्रुवीकरण आवश्यक रहेको जिकिर गरे।

‘कसले के पद लिने, कति जना सांसद कोबाट आउने भन्ने कुरा गौण हुन्,’ उनले थपे, ‘मुख्य कुरा बहुमत ल्याउनुपर्यो र राम्रा मान्छेहरू जोडिनुपर्यो। हामी उच्च राजनीतिक संस्कार सहितको नयाँ विकल्प दिने तयारीमा छौं।’

उनले रास्वपा र कुलमान घिसिङको विचार मिलिसकेको भन्दै प्राविधिक विषयहरू चुनावसम्ममा मिलिसक्ने दाबी समेत गरे।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com