काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।

यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

advertisement

मङ्सिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ वटा दलबाट निवेदन प्राप्त भएको जनाइएको छ । आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरुको सङ्ख्या १३७ रहेको आयोगले जनाएको छ ।

यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ ।

यसैगरी आगामी ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिर १ गतेदेखि ७ गतेसम्म तोकेकामा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि निवेदन प्राप्त भएकोसमेत आयोगले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com