काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको १५औं महाधिवेशनका विषयमा अझै सहमति जुट्न सकेको छैन । बिहीबार १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक शुक्रबार २ बजेलाई सारिएको छ ।

नेताहरू आआफ्नो अडानमा कायमै रहदा कांग्रेसभित्रको महाधिवेशन विवाद थप पेचिलो बन्दै गएपछि बैठक फेरि सारिएको हो ।

advertisement

महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरले दवाव बढाउँदै लगेपछि कांग्रेसका संस्थापन पक्ष बहुमतबाट फागुन २१ गतेको निर्वाचनपछि महाधिवेशन गर्ने कार्यतालिकासहित बहुमतबाट निर्णय गरेर जानुपर्ने पक्षमा उभिएका छन् । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्का साथै नेता शेखर कोइराला जुनै पनि निर्णय सहमतिका आधारमा गर्नुपर्ने पक्षमा छन् ।

बहुमतका आधारमा गरिने निर्णयले पार्टी विभाजन हुने जनाउँदै आफू त्यसको विपक्षमा रहेको दुबै नेताहरूले निकटहरूसँग बताउने गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले कार्यवाहक सभापति खड्का पार्टी फुट्ने गरी कुनै निर्णय नगर्ने, बरु कार्यवाहक सभापतिको जिम्मेवारी छाड्न तयार रहेको बताए । सहमतिका लागि कार्यवाहक सभापति सक्रिय रहेको जनाउँदै खतिवडाले भने,‘विवादित निर्णय आफ्नो हातबाट नहुने कुरा उहाँको प्रस्ट छ ।’

शनिबार बसेको पार्टी केन्द्रीय समितिले सर्वसहमतिबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि दल दर्ता गराउने निर्णय भएको खतिवडाले जानकारी दिए । तर, महामन्त्री थापाले दुई दिनपछि सामाजिक सञ्जाल फेसबुकमा सभापतिको हस्ताक्षर चल्दैन भन्ने अभिव्यक्ति ठिक नभएको दाबी गरे ।

महामन्त्रीकै प्रस्तावमा दल दर्ता गर्ने र सभापतिकै हस्ताक्षर प्रयोग गर्ने सर्वसहमतिबाट निर्णय भएको उनले दाबी गरे । तर, महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विशेष महाधिवेशनबाट नयाँ सभापति चयनसहित निर्वाचन आयोगको निर्णय सच्याएर अघि बढ्ने दाबी लेखेका थिए, ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने होइन ।’

सभापति देउवासहितका नेताहरूले महामन्त्री थापाको उक्त भनाइप्रति रुष्ट बनेका छन् । पार्टी विभाजन गर्नेतर्फ महामन्त्रीहरू लागेको त होइन भन्ने आशंका देउवाले निकट नेताहरूको भेटमा गरेको एक नेताले जानकारी दिए ।

कार्यवाहक सभापतिको जिम्मेवारी दिएर बस्दा पनि आफ्नो अपमान गर्न नछाडेको गुनासो गर्दै देउवाले निर्वाचनअघि महाधिवेशन गर्दा त्यसले नेता तथा कार्यकर्तामा तिक्ता ल्याउने र निर्वाचन परिणाम असर गर्ने बताउने गरेको सुनाए ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com