काठमाडौं ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गणतन्त्र घोषणा हुँदा ३ खर्ब ऋण रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको पालामा २८ खर्ब पुगेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व प्रधानमन्त्रीद्वय ओली–देउवाको कार्यकालमा सार्वजनिक ऋण ह्वात्तै बढेको बताएका हुन् । नेता साहले अहिले सुशीला कार्की नेतृत्वको सरकारले ऋणलाई बढवा दिइरहेको बताए ।

‘गणतन्त्र घोषणा हुँदा तीन खर्ब ऋण थियो । केपी ओली, शेरबहादुर देउवाले होइन २८ खर्ब पुर्याएको ? अहिलेको सुशीला कार्की झन जम्प गरिराखेकी छन् । उनको पालमा झनै बढ्यो । यी सबै एउटै जोगीजस्तो देखिन्छ,’– उनले भने ।

advertisement

साथै, उनले अब संसद् पुनर्स्थापनाको कुरा वकवास रहेको बताए । उनले संसद् पुनर्स्थापना हुनुलाई पछाडि फर्किनुको संज्ञा दिए । यस्ता प्रकारका कार्यले देशलाई बर्वादमात्रै पार्ने उनको भनाइ छ । एमालेले संसद् पुनर्स्थापनाको मुद्दा उठाएर धमिलो पानीमा माछा मार्न खोजेको उनको आरोप छ ।

‘संसद् पुनर्स्थापनाको कुरा गर्नु वकवास हो । कहिले पनि सूर्य पछाडि फर्किँदैन । एमाले भनेको त देशलाई बर्वाद गर्न लागेको पार्टी हो । एमालेले धमिलो बनाएर माछा मार्न खोजेको हो । देशलाई बर्वाद गरेर स्वार्थ पूर्ति गर्न खोजेको कुरा दुनियाँलाई थाहा छ,’– उनले भने ।

उनले अहिले निर्वाचनभन्दा पनि यो सरकारले सिस्टम सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको दिशामा काम गर्नुपर्ने उनले बताए । अहिले सुशीला कार्कीले जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेर दलहरुको चाकडी गरिरहेको उनले टिप्पणी गरे । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई केपी शर्मा ओलीको भन्दा पनि अनैतिक सरकारको संज्ञा दिए । उनले आसेपासेलाई नियुक्ति गरेको, गैरदलीय सरकारको नाममा दल खोलेकाहरुलाई मन्त्री बनाउनेजस्ता कुकर्म गरिरहेको बताए । यस्तो प्रकारको कुकर्मले देशलाई भलो नगर्ने उनले बताए ।

– रिपोर्टर्स नेपाल

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com