एजेन्सी । वासिङ्टनमा एक अफगान नागरिकले नेसनल गार्डका दुई सैनिकमाथि गोली चलाउँदा एक सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया जनाउँदै ‘तेस्रो विश्वका देश’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गरेका छन्।
घटनापछि ट्रम्पको प्रतिक्रिया उनको दोस्रो कार्यकालमा अघि बढाइरहेको आप्रवासन विरोधी नीतिमा अर्को तीक्ष्ण मोडको रूपमा व्याख्या गरिएको छ। उनका अनुसार यस कदमले पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा स्वीकृत ‘लाखौँ आप्रवासी प्रवेश’ कार्यक्रमलाई उल्ट्याउने चेतावनी समेत दिनेछ।
राष्ट्रपति ट्रम्पले पुष्टि गरेका अनुसार, वेस्ट भर्जिनियाबाट वासिङ्टनमा तैनाथ नेसनल गार्डकी २० वर्षीया साराह बेकस्ट्रोम गोली लागेर घाइते भएकी थिइन् र पछि उनको मृत्यु भएको थियो। घटना घटाएको २९ वर्षीय अफगान नागरिक सन्दिग्ध बन्दुकधारीको रूपमा पहिचान भएपछि एफबीआईले अन्तर्राष्ट्रिय आतङ्कवादी सम्बन्धमा अनुसन्धान थालेको छ।
अधिकारीहरूले घटनालाई ‘एम्बुस–शैली’ आक्रमणको रूपमा वर्णन गरेका छन्। यस घटनाले अमेरिकी राजधानीमा तैनाथ सेनाको प्रयोग, आप्रवासन नीति, र अफगान युद्धको दीर्घकालीन प्रभाव जस्ता संवेदनशील राजनीतिक विषयलाई पुनः चर्चामा ल्याएको छ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म अमेरिकी प्रणालीलाई पुनःस्थापित गर्न सबै तेस्रो विश्वका मुलुकबाट हुने आप्रवासन स्थायी रूपमा रोक्नेछु।’ उनले बाइडेन प्रशासनले स्वीकृत लाखौँ प्रवेश खारेज हुने र ‘अमेरिकाका लागि उपयुक्त नहुने’ व्यक्तिहरूलाई देशबाट हटाइने चेतावनीसमेत दिएका छन्।
थ्याङ्क्सगिभिङको अवसरमा सेनासँग गरिएको भिडियो सम्बोधनमा ट्रम्पले वासिङ्टनमा भएको ‘आतङ्कवादी आक्रमण’ ले राष्ट्रमा शोक सिर्जना गरेको र राजधानीमा थप सयौँ नेसनल गार्ड पठाउनु निवारक कदम भएको दाबी गरे। उनले थपे, ‘यदि गार्ड नहुँदो हो भने घटना अझ गम्भीर हुन सक्थ्यो।’
यसैबीच अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) का निर्देशक जोसेफ एडलोले ट्रम्पको आदेशअनुसार ‘चिन्ता उत्पन्न गर्ने’ देशका नागरिकहरूको ग्रिन कार्ड फाइलमा कडा छानबिन सुरु गरिएको जानकारी दिए। अफगानिस्तान, क्युबा, हाइटी, इरान, म्यान्मार लगायत १९ देश विशेष निगरानी सूचीमा परेका छन्।
बुधबारको आक्रमणमा गम्भीर घाइते २४ वर्षीय सैनिक एन्ड्र्यु वोल्फ अहिले ‘जीवनका लागि लडिरहेका’ छन्। सन्दिग्ध बन्दुकधारी रहमानुल्ला लकानवाल पनि गम्भीर घाइते अवस्थामा छन्। अमेरिकी वकिल जेनिन पिरोका अनुसार लकानवालले ह्वाइट हाउसको केही ब्लक टाढा गस्ती गरिरहेका गार्डम्यानहरूलाई लक्षित गरेर पोइन्ट ३५७ रिभल्भर प्रयोग गरेको थिए।
सीआइएका निर्देशक जोन र्याटक्लिफका अनुसार लकानवाल अफगानिस्तानमा तालिबानविरुद्ध लड्ने सीआइए–सहायता प्राप्त ‘साझेदार बल’ का सदस्य थिए र अमेरिकी सहयोग कार्यक्रमअन्तर्गत अमेरिका भित्र प्रवेश गरेका थिए। र्याटक्लिफ, एफबीआई, होमल्यान्ड सेक्युरिटी र अन्य ट्रम्प नियुक्त अधिकारीहरूले बाइडेन प्रशासनको ‘सुस्त शरण नीति’ का कारण लकानवाललाई सजिलै प्रवेश गर्न मिलेको आरोप लगाए।
तर, अफगान पुनःस्थापनामा सहायक संगठन अफगानइभाकले सबै अफगान आवेदकहरू कडा सुरक्षा जाँचबाट गुज्रिनुपर्छ भनी सम्पूर्ण समुदायलाई दोष नलगाउन आग्रह गरेको छ। लकानवाललाई शरण ट्रम्प प्रशासनकै वर्ष २०२५ अप्रिलमा दिइएको र एक वर्षपछि स्थायी आवास योग्य हुने अवस्थामा थिए।
घटनापछि रक्षामन्त्री पिट हेग्सेथले वासिङ्टनमा थप ५०० सैनिक तैनाथ गरेर कुल संख्या दुई हजार ५०० पुर्याइएको घोषणा गरेका छन्। ट्रम्पले वासिङ्टन मात्र नभई डेमोक्रेट नेतृत्व भएका अन्य शहरहरू जस्तै लस एन्जलस र मेम्फिसमा पनि सेना तैनाथ गरिसकेका छन्। यस कदमले संघीय सत्ता दुरुपयोग र अधिनायकवादी हस्तक्षेपको आरोपहरू बढाएको विश्लेषकहरूले जनाएका छन्।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया