काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूसँग आगामी निर्वाचनबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गर्न आग्रह गरेकी छन्।
आफूलाई भेट्न शनिबार अपराह्न बालुवाटार आएका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग प्रधानमन्त्री कार्कीले देशले धेरै क्षति बेहोरिसकेकाले भएको जोगाउन पनि आग्रह गरिन्। उनले भनिन्- ‘क्षति धेरै बेहोरिसक्यौँ। धेरै कुरा गुमाइसक्यौँ। अब भएको जोगाऔँ। नयाँनयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँडौँ। विमतिका कुरा छन् भने आफ्ना मत लिएर जनतामा जाने कुरा गरौँ। चुनावमा जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ।’
उनले सम्भावित अस्थिरताप्रति सतर्क हुन पनि नेताहरूसँग आग्रह गरेकी थिइन्। उनले थपिन्- ‘यहाँ मेरा लागि र यो सरकारका लागि कोही आफन्त-पराया छैनन्। हामी कुनै पनि कारणले पंक्तिभेद गर्दैनौँ। तपाईँहरु र अरु जोकोहीले दिने दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौँ।’
राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाह, राजनीतिक दलहरू र जेनजीहरूलाई सँगै राखेर नवीन समझदारीको पहल गर्न प्रधाामन्त्री कार्कीसँग आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्कीले मुलुकको वातावरण बिगार्न धेरै लागेको उल्लेख गर्दै तिनलाई कारबाही नगर्ने हो भने देश कहिल्यै उँभो नलाग्ने राप्रपा नेताहरूसँग बताएकी थिइन्।। उनले दण्डहीनतालाई प्रश्रय दिए राम्रो नहुने उल्लेख गर्दै निर्दोष बालबालिका मारिएको घटनामा छानबिन आयोगको प्रतिवेदनको सिफारिस कार्यान्वयनमा आउने बताइन्। उनले राज्यले पनि कम खर्चमा चुनाव गराउन पहल गरिरहेको उल्लेख गर्दै भनिन्- ‘तपाईँहरु पनि स्वच्छ चुनावका लागि मितव्ययी ढंगले लाग्नुहोस्।’
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार













प्रतिक्रिया