काठमाडौं । शंकर ग्रुप अन्तर्गतको सुलभ अग्रवालको जगदम्बा ओभरसिजबाट भन्सार प्रणालीमै छेडखानी गरी ७१ लाखभन्दा बढी राजस्व छली गरेको खुलेको छ। अग्रवालले सानेपाको इन्टरनेशनल क्लव परिसरबाट सार्वजनिक रुपमा टोबाको स्टिक्स बिक्रि गर्दै आएका छन्।

जगदम्बा ओभरसिजले नेपालमा बिक्री वितरण गर्दै आएको इलेक्ट्रिक डिभाइसमा राखेर तान्ने चुरोट (टोबाको स्टिक्स) आयातमा भन्सार विभागका कर्मचारीहरूसँग सेटिङ मिलाई भन्सार विभागको आशिकुडा प्रणालीमै छेडखानी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। एचएस कोड २४०४११०० मा आयात हुने ‘सुर्ती भएको वा पुनर्निर्मित सुर्ती’ (टोबाको स्टिक्स) वास्तविक राजस्व महशुल भन्दा कम तिरेर भित्र्याइएको पाइएको हो।

advertisement

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आशिकुडा प्रणालीमा एचएस कोड र वस्तुको मूल्य प्रविष्ट गरेपछि कानुनअनुसार लाग्ने सम्पूर्ण राजस्वसहितको बिल स्वतः जारी हुन्छ। तर टोबाको स्टिक्स आयातको विवरणमा प्रणालीमै फेरबदल गरी वास्तविकभन्दा धेरै कम राजस्व तिरेर मालसामान छुटाइएको भेटिएको उनले बताए। “यसमा भन्सार विभागभित्रको मिलेमतो बिना सम्भव हुँदैन,” ती अधिकारीले भने।

सुलभ अग्रवाल यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्। कोरोना महामारीको समयमा थर्मल गन कालोबजारी गरेको आरोपमा २०७६ चैतमा प्रहरीको अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो।

भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकले पनि वास्तविकभन्दा कम मूल्यमा टोबाको स्टिक्स भित्रिएको पुष्टि गर्छ। चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म ९६ लाख रुपैयाँ मूल्य बराबरको ६१० किलो टोबाको स्टिक्स आयात हुँदा जम्मा ६७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको देखिन्छ। यो वास्तविक राजस्वको ७१.८७५ प्रतिशत मात्र हो। जबकि विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार यस्तो सुर्तीजन्य पदार्थमा आयात मूल्यभन्दा पनि बढी १४३.६२८ प्रतिशत सम्म राजस्व लाग्नुपर्ने कानुनी व्यवस्था छ।

आर्थिक ऐन २०८२/८३ अनुसार सुर्ती भएको वा पुनर्निर्मित सुर्तीमा ४० प्रतिशत भन्सार महशुल, ४० प्रतिशत अन्तःशुल्क, १० प्रतिशत स्वास्थ्य जोखिम कर र १३ प्रतिशत भ्याट लाग्छ। गत आर्थिक वर्ष २०८१/८२ सम्म प्रतिकिलो ५२० रुपैयाँ अन्तःशुल्क लाग्थ्यो भने चालू आर्थिक वर्षमा अन्तःशुल्कलाई प्रतिशतमा रूपान्तरण गरी ४० प्रतिशत पुर्‍याइएको छ। स्वास्थ्य जोखिम र भन्सार महशुलको दर भने यथावत् राखिएको छ।

सुर्ती भएको वा पुनर्निर्मित सुर्ती नभएको वस्तुको आयातमा आधा भन्दा बढी राजस्व छली भएको देखिन्छ। चालु आर्थिक वर्षमा आयात भएको ९६ लाख रुपैयाँ मूल्यको टोबाको स्टिक्सको गणना गर्दा मात्रै भन्सार, अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र भ्याट जोडिएपछि कुल मूल्य २ करोड ३३ लाख ८८ हजार २८८ रुपैयाँ पुग्छ। यसमा निर्यातकर्ताले घोषणा गरेको मूल्य घटाउँदा कम्तीमा १ करोड ३७ लाख ८८ हजार २८८ रुपैयाँ राजस्व संकलन हुनुपर्ने हो। तर विभागीय तथ्यांकमा जम्मा ६७ लाख रुपैयाँ मात्र देखिएकोले ७० लाख ८८ हजार २८८ रुपैयाँ राजस्व नोक्सानी भएको खुलासा भएको छ।

सुलभ अग्रवाल यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्। कोरोना महामारीको समयमा थर्मल गन कालोबजारी गरेको आरोपमा २०७६ चैतमा प्रहरीको अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो। पछिल्लो समय गैरकानुनी रूपमा भेपजन्य सामाग्री र सुर्तीजन्य पदार्थको व्यापारमा संलग्न हुँदै आएका उनीमाथि पुनः गम्भीर आर्थिक अपराधको आरोप लागेको छ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका बेला सक्रिय ‘थर्मल गन ग्याङ’ मार्फत आर्थिक घोटाला मच्चाउने बिचौलिया समूहमा अग्रवालको नाम जोडिँदै आएको थियो। अहिलेको यो राजस्व छली प्रकरण त्यसैको निरन्तरताको एक सानो उदाहरण हो।

वार्षिक रूपमा अरबौँको कारोबार गर्ने शंकर ग्रुप अन्तर्गतको जगदम्बा ओभरसिजले भन्सार विभागकै प्रणालीमा छेडखानी गरी गरेको यो राजस्व घोटाला गम्भीर प्रकृतिको विषय भएको सरोकारवालाको भनाइ छ। समयमै निष्पक्ष छानबिन र कडा कारबाही नहुँदा आगामी दिनमा यस्तो राजस्व छली अझै बढ्ने र राज्यलाई ठूलो आर्थिक नोक्सानी पुग्ने खतरा सरोकारवालाहरुले औँल्याएका छन्।

 

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com