काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्ति निर्माणको प्रक्रियामा विभाजनभन्दा एकता महत्वपूर्ण रहेको भन्दै सबैलाई संयुक्त यात्रामा अघि बढ्न आग्रह गरेकी छन्।

बुधबार प्रज्ञा भवनमा आयोजित उज्यालो पार्टी नेपाल घोषणा कार्यक्रममा बोल्दै उनले समान एजेन्डा बोकेका शक्ति र व्यक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता दोहोर्याइन्।

advertisement

श्रेष्ठले यसअघि कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच नयाँ राजनीतिक पार्टी निर्माणबारे अनौपचारिक छलफलहरू अघि बढाएकी थिइन्। आफू पनि कुलमान नेतृत्वको पार्टीमा प्रवेश गर्ने तयारीमा रहेकाले तर नाम र नेतृत्वबारे सहमति नजुटेकाले अन्तिम चरणमा पार्टीमा नजोडिएको उनले भनिन् ।

कार्यक्रममा श्रेष्ठले विभाजित भएर अघि बढ्दा नयाँ राजनीतिक संस्कार निर्माणको प्रयास कमजोर भई पुरानै दलहरू नै लाभान्वित हुने चेतावनी दिइन्।

उनले भनिन्, सबै जना आ–आफ्नो बाटो हिंड्नुपर्ने बेला होइन। घोषणा गरिएका एजेन्डामा सबैको सहमति छ भने अलग–अलग किन जाने? सुमना एकतामै छ, एकता हुनैपर्छ।

२०७९ सालको विरोध प्रदर्शनतर्फ संकेत गर्दै उनले युवा पुस्ताले पुरानै राजनीतिक प्रवृत्तिलाई बदला गर्न दिएको बलिदान खेर जान नदिन आग्रह गरिन्।
पाँच औंला जोडिँदा मुठ्ठी बलियो हुन्छ, उनले भनिन्, एकताबाटै पुरानो राजनीतिक संस्कारलाई अन्त्य गर्न सकिन्छ। देशलाई निकास दिने मार्ग पनि यही हो।

श्रेष्ठले फराकिलो मन बनाएर साझा एजेन्डामा सहकार्य गर्न सबैलाई पुनः अपिल गर्दै नयाँ राजनीतिक ध्रुवीकरणको मूल मन्त्र ‘एजेन्डा–केन्द्रित एकता’ नै हुने स्पष्ट गरिन्।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com