काठमाडाैं । धरानका मेयर हर्क साम्पाङले सुरु गरेको ‘सुम्निमा पारूहाङ’ प्रतिमा निर्माण परियोजनामा आर्थिक तथा संस्थागत अनियमितताको उजुरी दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ।
अख्तियारले मंसिर १४ गते धरान उपमहानगरलाई पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलनको आशंका व्यक्त गरेको र सम्बन्धित सबै कागजात १५ दिनभित्र पेस गर्न निर्देशन दिएको हो।
उजुरीमा मेयर साम्पाङ तथा केही कर्मचारीको मिलेमतोमा स्थानीय तहकै नेतृत्वमा बसेका व्यक्तिले आफू अध्यक्ष रहने गरी संस्था दर्ता गरेको आरोप छ। साथै, प्रतिष्ठानमा आएको रकमको स्रोत, खर्चको विवरण र रकम कसका नाममा स्थानान्तरण भयो भन्ने विषयमा प्रश्न उठाइएको छ।
अख्तियारले मागेका कागजातमा प्रतिष्ठानको दर्ता प्रमाणपत्र, मिति, कानुनी आधार, पदाधिकारी सूची, विधान–नियमावली, उद्देश्य, संरचना, आर्थिक प्रणाली तथा सबै निर्णय प्रक्रियाका विवरण समावेश छन्।
छानबिनका बीच मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तोष जनाउँदै, सरकारले पहल नगरेपछि आफैं अघि बढ्नुपरेको दाबी गरेका छन्। साथै अख्तियारको चासोलाई राजनीतिक उद्देश्यप्रेरित भएको संकेत पनि गरेका छन्।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया