काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेल अन्तिम चरणमा पुगेका छन्। अब लिग चरणका अन्तिम चार खेल बाँकी छन्।

आठ टोलीबीचको प्रतिस्पर्धामा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। अन्तिम चार खेल बाँकी रहदा तीन टोलीको प्लेअफमा स्थान पक्का भइसकेको छ। सुदूरपश्चिम रोयल्सले लगातार ६ खेलमा जित निकालेर शीर्ष स्थान पक्का गरिसकेको छ।

advertisement

यस्तै सबै खेल खेलिसकेको काठमान्डु गोर्खाज पनि ७ मध्ये ५ खेलमा जित निकालेर प्लेअफमा पुगेको छ।

बिहीबार सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गरेपछि अंक तालिकाको तेस्रो स्थानको विराटनगर किंग्सको पनि शीर्ष चार स्थान पक्का भएको थियो।

अब शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि एक टोली बाँकी छ। लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्समध्ये एक टोली मात्र प्लेअफमा पुग्नेछ।

चार टोलीको समिकरणमा लुम्बिनीको मात्र आफ्नै हातमा छ। लुम्बिनीले जित निकालेको अवस्थामा बाँकी रहेका तीन टोली सिधै बाहिरिनेछन्।

लुम्बिनी पराजित भएमा मात्र बाँकी तीन टोलीको सम्भावना हुनेछ। तर उनीहरूले आफ्ना सबै खेल जितेर मात्र पुग्दैन अरु टोलीको रनरेटमा पनि भर पर्नुपर्नेछ।

अब लिग चरणमा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। शुक्रबार हुने यहि नतिजाले अरू टोलीको यात्राको निर्क्यौल गर्नेछ।

शनिबार विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीचको खेलले प्लेअफ समिकरणमा प्रभाव पार्नेछैन। यद्यपी ठूलो अन्तरको जितले विराटनगर शीर्ष दुईमा पर्न सक्छ।

शनिबार नै चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन्। शुक्रबार लुम्बिनी पराजित भए मात्र चितवन र पोखराबीचको विजेताको प्लेअफ सम्भावना हुनेछ।

यस्तै आइतबारको अन्तिम खेलमा जनकपुर र कर्णाली याक्सबीच खेल हुनेछ। कर्णाली याक्सका प्लेअफबाट बाहिरिसकेको छ। जनकपुरका लागि प्लेअफमा पुग्न तीन वटा नजिता आफ्नो पक्षमा आउनुपर्छ।

पहिलो आज लुम्बिनीलाई पराजित गर्नु पर्छ, दोस्रो शनिबार चितवन र पोखराबीचको खेलको हार जित कम अन्तरको हुनुपर्छ। र आइतबार कर्णालीलाई हराउनु पर्छ। आज लुम्बिनीसँग पराजित भएमा आजै खेल खत्तम हुनेछ, जनकपुरको मात्र होइन अरु टोलीको पनि यात्रा सकिनेछ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com