काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०१५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

advertisement

उनले भने, ‘सवारी चालक र ट्राफिक प्रहरी एकअर्काप्रति सकारात्मक हुनुपर्छ । तपाईंहरु सकारात्मक भए सवारी सञ्चालनमा सहज हुन्छ । सवारी चालकले ट्राफिक प्रहरी र नेपाल प्रहरीप्रति सकारात्मक हुनुहोला ।’

यसैगरी उनले दुईपाङ्ग्रे सवारीसाधनका घटना बढी हुने गरेको तथ्याङ्क देखिएकाले दुईपाङ्ग्रे सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने बताए । नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोतसाधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने मन्त्री गुप्ताको भनाई थियो । सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिएको मन्त्री गुप्ताले स्पष्ट पारे ।

यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले आमनागरिकको साथ सहयोगबाट ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले समुदायस्तरमा रहेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी आमनागरिकको सेवामा खटिएका प्रहरी हाैँ । हामी प्रत्येक नागरिकलाई सेवा दिन तयार छौँ ।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिकाले हामी सधैँ आमनागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी दुर्घटना एवं ट्राफिक व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com